बुटवल–नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प छैनः प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणगढ सडकको ठेक्का तोड्नुको विकल्प सरकारसँग नभएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीवार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरुले निर्माण कार्यमा लापरवाही भएको विषयको ध्यानाकर्षण पत्र बुझ्दै यस्तो बताएका हुन् ।  रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका जनप्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेटमा ध्यानाकर्षण गराएका हुन् ।

ध्यानाकर्षणपछि प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडक चार वर्षमा सक्नुपर्ने काम ६ वर्षसम्म लाग्दा पनि नसकिएको र अहिले काम ठप्प हुनु राम्रो नभएको बताए । उनले ६ वर्षसम्म ५२ प्रतिशत काम बल्ल भएको उल्लेख गरे ।

सरकारले थप गरेको म्याद पनि एक वर्षमा सकिन लागेको भन्दै ५२ प्रतिशत काम ६ वर्षमा भयो भने अब ४८ प्रतिशत काम बाँकी एक वर्षभित्र सम्पन्न गर्न सम्भव नभएको उनले जानकारी दिए ।

सडक ठेक्का पाएको कम्पनीले तिब्र रुपमा काम गर्ने हो भने काम अगाडि बढाउनुपर्ने उनकाे भनाइ छ । उनले एडिबीले २०२६ मा दिने रकम क्लोजिङ हुने अवस्था रहेको बताए ।

उक्त सडक निर्माणको विषयमा सरकारले गम्भिर निर्णय गर्नुपर्ने अवस्था रहेको उनकाे भनाइ छ । उनले ४४ प्रतिशत सरकारको तर्फबाट भुक्तानी भएको र ५६ प्रतिशत भुक्तानी बाँकी रहेको जानकारी दिए ।

निर्माणको अहिलेको गतिमा काम अलपत्र छोड्ने हो भने सरकारले भुक्तानी दिन नसक्ने उनले संकेत गरेका छन् । सरकारसँग भएको सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न नसक्ने भए ठेक्का तोड्नुको विकल्प नभएको उनकाे भनाइ छ । उनले डिसेम्बरसम्म निर्माण ठेक्का कम्पनीले मागेको समय दिएर त्यसपछि निर्णायक ढङ्गले कदम चाल्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले विश्वनिय रुपमा कम्पनीले काम गर्ने भए काम गर्न केही समय दिने तर काम गर्न नसके ठेक्का तोडर नयाँ प्रक्रियामा जानुपर्ने बताए । 

विदेशी कम्पनीहरुलाई टेण्डरमा सहभागि गराउनुपर्ने, ग्लोवल टेण्डर गर्नुपर्ने, विदेशी कम्पनीलाई आउन खुला हुने, हाम्रो नियमअनुसार जसले सस्तो गर्छ त्यसैलाई दिनुपर्ने अवस्था रहेको उनकाे भनाइ छ ।

उनले विविध समस्याको मारमा सरकार रहेको बताए । आन्तरिक रुपमा ठेकेदारहरुले १५ वर्षअघि लिएका दुई वर्षमा सक्ने भनेका बाटा अहिलेसम्म एक कोदालो माटो कतै नचलेर पनि चलिरहेको स्थिति रहेको उनले बताए ।