गल्फ इन्डस्ट्रियल पार्टनर सेमिनार विरगंजमा सम्पन्न


विरगंज । नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले बिरगंजमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी ‘ड्राइभिङ पाटर्नरसिप, फिउलिङ्ग सक्सेस’ नारासहित इन्डस्ट्रियल पार्टनर सेमिनार सम्पन्न गरेको छ।

कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंज नगर प्रमुख राजेश मान सिंह थिए। विशेष अतिथिको रूपमा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल र उपाध्यक्ष माधव राजपालको उपस्थिति रहेको थियो।

गल्फ इन्टरनेशनलका प्रतिनिधिहरूले कार्यक्रमका दौरान स्टिल, सिमेन्ट, निर्माण, खानी लगायतका औद्योगिक क्षेत्रका सरोकारवालाहरूसँग गल्फ लुब्रिकेन्टको प्राविधिक पक्षमा छलफल गर्दै, यसका उत्पादनहरू उद्योगहरूको लागि किन उपयुक्त छन् भन्ने विषयमा विस्तृत प्रस्तुति दिएका थिए। सो कार्यक्रममा १३० भन्दा बढी औद्योगिक क्षेत्रका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

महाप्रबन्धक गंगा राज भट्टराईले सो अवसरमा भने,“नेपाल ल्युब आयलले विगत ४० वर्षदेखि बहुराष्ट्रिय गल्फ ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा स्वदेशमै उत्पादन गर्दै आएको छ। हामीले आगामी दिनहरूमा सिंथेटिक उत्पादनहरूको उत्पादन क्षमतामा विस्तार गर्ने योजना बनाएका छौँ। यस पहलका माध्यमबाट, औद्योगिक प्रतिष्ठानहरूले उच्च गुणस्तरका उत्पादनहरू सरल र सहज रूपमा प्राप्त गर्न सक्नेछन्।”

गल्फ लुब्रिकेन्टको प्रयोगले उद्योगहरूको कुल लागत घटाउने र मेसिनहरूको आयु बढाउने क्षमता रहेको भन्दै उनले यसका फाइदाहरूको पनि चर्चा गरे। गल्फ ब्रान्ड विश्वभरि परिचित छ र नेपालमा यसले ३८ वर्षदेखि निरन्तर ग्राहकहरूको विश्वास जितिरहेको छ।