पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई बोर्डले नियमन र नियन्त्रण गर्छः अध्यक्ष श्रेष्ठ


काठमाडाैँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई नियमन र नियन्त्रण गरिने बताएका छन् ।

बुधवार नेपाल आर्थिक पत्रकार (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष श्रेष्ठले पछिल्लो समय पुँजीबजारमा अवाञ्छित गतिविधि भइरहेको गुनासो आएकाले बोर्ड त्यस्ता कार्यलाई नियमन र नियन्त्रण गर्ने योजनामा रहेको बताएका हुन् ।

उनले भने ‘धितोपत्र बजार प्रणालीमा बढी सुधार गर्नुपर्ने आवश्यकता रहेको छ, नेपालीकाे पुँजीबजारमा ७० लाख लगानीकर्ता पुगिसकेकाे हुनाले बजारलाइ व्यवस्थित बनाउनु पर्ने छ ।’

पुँजीबजारमा अवाञ्छित गतिविधि बढिरहेकाे भन्दै अध्यक्ष श्रेष्ठले यसलाइ राेक्न पुँजीबजारलाई अटोमेसन प्रणालीमा लैजाने बताए ।

उनले पाइपलाइनमा रहेका आइपीओ निष्कासन एक दुई दिनभित्रै सुरू हुने जानकारी दिँदै अध्यक्ष श्रेष्ठले भने ‘बोर्डले अब आईपीओ निष्कासनको लागि एक दुई दिनभित्रै स्वीकृत दिनेगरी काम अघि बढाएको छ ।’

उनले लगानीकर्ताको हितलाई मध्यनजर गरेर अघि बढ्ने प्रतिवद्धता जनाउँदै नेतृत्वमा आइसकेपछि लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको धारणा राखे ।

उनले क्यापिटल मार्केट देशको अर्थतन्त्र चलायमान बनाउने ठूलो क्षेत्र भएकाले चलायमान बनाउन आवश्यक रहेको बताए ।

उनले बोर्डले ७० लाख लगानीकर्तालाई सहजता दिनेगरी काम गर्न पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।अध्यक्ष श्रेष्ठले बोर्डको कार्य क्षमतालाई अभिवृद्धि गरी प्रभावकारी रुपमा काम गर्ने तयारी रहेको पनि बताए ।