योगले मानव जीवनमा स्वास्थ्य र सन्तुलन दिन्छ: प्रधानमन्त्री ओली


काठमाडौँ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यसहित आज देशभर दशौं राष्ट्रिय योग दिवस मनाइएको छ। दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश जारी गर्दै सबैमा हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले योगलाई मानव जातिको कल्याणका लागि समर्पित विधा भन्दै यसले मानिसको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। सन्देशमा उनले योग कुनै धर्म, जाति वा भूगोल विशेषसँग सीमित नभई सम्पूर्ण मानव समाजका लागि उपयोगी रहेको बताए।

प्रधानमन्त्री ओलीले भने, “योग हाम्रो भूमिको उपज हो। आदियोगी शिवले हजारौं वर्षअघि यस भूमिबाट योगको अभ्यास र दर्शनको सुरुवात गर्नुभएको थियो। योग कुनै राजनीतिक विचारधारामा सीमित छैन। यो वैज्ञानिक रूपमा विकसित विधा हो, जसले जीवन र प्रकृतिबीचको सन्तुलन कायम राख्न मद्दत गर्दछ।”

योगको ऐतिहासिक महत्वबारे चर्चा गर्दै प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मान्यता दिएको र यसको सम्बन्ध नेपालको कपिलवस्तु र अर्घाखाँचीसँग रहेको स्मरण गराए। महर्षि पतञ्जलीले योगलाई अष्टाङ्गमा विभाजन गरी मानव जीवनका विभिन्न पक्षलाई समेट्ने विधाको रूपमा विकसित गरेको उनले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले योग दिवसका अवसरमा देशभक्ति, प्रकृतिप्रतिको गर्व, र पूर्वजका योगदानलाई स्मरण गर्दै त्यसबाट प्रेरणा लिएर जीवनमा सकारात्मक परिवर्तनको आकांक्षा राख्न आग्रह गरे।

उनले भने, “हामीले आफ्ना पूर्वजका ज्ञान र अनुसन्धानबाट सिक्नुपर्छ। योगको अभ्यासले मानिसमा आत्मबल र सहनशक्ति अभिवृद्धि गराउँछ। यस दिवसले हामीलाई शारीरिक, मानसिक र आध्यात्मिक प्रगतिको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस्।”

प्रधानमन्त्रीको सन्देशमा योगको महत्वलाई विश्वव्यापी बनाउने दिशामा नेपालले थप योगदान पुर्याउनुपर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।