कानून निर्माण काम रोक्नका लागि होइन, काम गर्नका लागि हुनुपर्छः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको बताए । उनले कतिपयले यसको बिरोध गर्न खोजिरहेको भन्दै १५/२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानूनको रुप लिइसक्ने उल्लेख गरे ।

दुई महिनासम्म देशका कामहरु रोकेर राख्न नमिल्ने उनकाे भनाइ छ । उनले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्वपूर्ण रहेको बताए । विकासका काम अघि बढाउने र जनताको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानूनहरुको निर्माण जरुरी रहेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अब गरिब छोडिरहन नसक्ने भएकाेले आत्मविश्वासका साथ अघि बढे गरिबी निवारण सम्भव रहेको बताए । सम्पूर्ण जनता अधिकार सम्पन्न हुनुपर्ने र अधिकारको निर्वाध उपयोग गर्न पाउनुपर्ने उनकाे भनाइ छ । 

प्रधानमन्त्री ओलीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने उल्लेख गरे । उर्जाको प्रयोग नबढाइ नहुने भएकाेले नेपालसँग १ लाख २० हजार मेगावाट भन्दा बढी उर्जा क्षमताको भरपुर प्रयोग गर्नुपर्ने उनकाे भनाइ छ ।