‘लाखौँ युवाको भविष्य जोडिएको त्रिभूवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन हुँदैन’


काठमाडाैँ । त्रिभूवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन नहुनेमा सांसदहरूले जोड दिएका छन् । आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदरूले सही ढंगबाट कानून बनाए कार्यान्वयन गरेको खण्डमा विश्वविद्यलाय सुधार हुन समय नलाग्ने बताए ।

उनीहरूले लाखौँ युवाहरूको भविष्य जोडिएको संस्थालाई भद्रगोल बनाउन नहुने सुझाव दिएका छन् । समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले त्रिभूवन विश्वविद्यालयमा विद्यार्थी संगठित भएर राजनीति बढी गरेको कुरालाई सही ढंगबाट कानून बनाएर नियमन गर्न जरुरी रहेको बताइन् । उनले शिक्षाको मुहान भद्रगोल तरिकाबाट चल्नु नहुने बताइन् । समितिले आवश्यक सुधारका लागि सरकारलाई निर्देशन दिन जरुरी रहेको बताइन् ।

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य रुक्मिणी कोईरालाले देशका लाखौँ युवाहरूकाे भविष्यसँग जोडिएको त्रिभूवन विश्वविद्यालयलाई सही तरिकाबाट सञ्चालन गर्न जरुरी रहेको बताए । उनले विश्वविद्यालयको प्रत्यायोजित विधायन सन्तोषजनक नरहेको र यसो हुनुमा विश्वविद्यालय सञ्चालक समितिको गल्ती रहेको महशुस आफूले गरेको बताए ।

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ तत्काल पुनःलेखन गर्नुपर्ने बताए ।उनले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को पुनःलेखनका लागि सरकारलाई समितिले निर्देशन दिनुपर्ने बताए ।

समितिको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले त्रिभूवन विश्वविद्यालय नेपालको शिक्षाको मेरुदण्ड भएको बताए । उनले प्राज्ञिक व्यक्तिहरु भएको ठाउँमा प्रत्यायोजित अधिकार हनन हुन नहुने बताए । सभापति शर्माले प्रत्यायोजित अधिकारहरु हनन भएका ठाउँ पहिचान गरी सच्याउन जरुरी रहेको बताए ।