काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले हेलिकप्टर उडान गर्न दिने÷नदिने बारेमा निर्णय लिन नसक्ने बताएका छन् ।
मंगलवारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले सगरमाथा राष्ट्रिय निकुञ्जमाथि हेलिकप्टर उडाउन नदिने निर्णय राष्ट्रिय निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले गरेको भन्दै यो गलत भएको बताएका हुन् ।
उनले तल निकुञ्ज छ भनेर माथिबाट नउडाउने हो भने रारा, बर्दिया, शिवपुरी, चितवनको आकाशमा पनि नउडाउनु ? भन्दै प्रश्न गरे । उनले हेलिकप्टर उडानका कारण विद्यार्थी, जनावर, ध्वनी प्रदुषण र त्यहाँको जलवायु परिवर्तनको असर न्युनिकरणका लागि नियमनलाई अझै प्रभावकारी बनाउने कुरामा भने राज्यले ध्यान दिने बताए ।
निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाका कर्मचारीहरु बसेर यो आकाशमा हेलिकप्टर चल्दैन भन्नु नेपालको संविधान र कानूनको व्यवस्थाअनुसार गलत भएको बताए । सो विषयमा गृह मन्त्रालयले काम गरिरहेको र प्रमुख जिल्ला अधिकारीले पनि सर्वपक्षीय बैठक बसेर छलफल गरिरहनुभएको जानकारी दिँदै आवश्यक परे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि निर्णय गर्ने बताए ।
उनले चलायमान पर्यटकीय पर्वतारोहणको सम्भावनालाई ध्वस्त पार्ने काम भएको बताए । संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई अघि बढाएर नेपालको पर्यटन क्षेत्रबाट फाइदा लिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्