काठमाडौँ । इन्ड्राइभ र एनसिडिएम (नेशनल सेन्टर फर डिजास्टर म्यानेजमेन्ट) काे साझा पहलमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर १० दाप्चा गाउँमा आश्रयस्थल निर्माण गरेर हस्तान्तरण गरेको छ । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण घरबारविहीन भएका पीडित परिवारहरूलाई आश्रयस्थल निर्माण गरेर हस्तान्तरण गरेको हाे ।
यो घर निर्माण परियोजना ४० दिनको अवधिमा ५ लाख लागत लगाएर निर्माण गरेकाे जनाएकाे छ । एनसिडएमका उपाध्यक्ष डा. जीवराज पोख्रेलले संस्थाको उद्देश्य पीडित परिवारलाई सुरक्षित, दिगो र पारिस्थितिकीय दृष्टिकोणले अनुकूल घर उपलब्ध गराउनु रहेको र पूरा भएको बताए ।
उनले भने,” यो घर स्थानीय सामग्री र बासको प्रयोग गरेर बनाइएको हो, जसले लागत घटाउँछ र वातावरणमैत्री संरचना निर्माणमा मद्दत पुर्याउँछ।”
एनसिडएमका अध्यक्ष प्रा. डा. विशलनाथ उप्रेतीले भविष्यमा पनि इन्ड्राइभसँग सहकार्य गरेर अझ धेरै प्रभावित क्षेत्रहरूमा यस्ता घरहरू निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष रामकृष्ण उप्रेतीले असोज महिनामा परेको वर्षाले वडाका ५७ घरलाई क्षति पुर्याएको र ७ घरको स्थिति अत्यन्तै जटिल भएको बताए। उनले यस सहकार्यको प्रशंसा गर्दै भने, “यस समयमा, इन्ड्राइभ र एनसिडएमले सहयोग गरेर पीडित परिवारलाई नयाँ घर दिने कार्य गरेको छ। यस पहलले स्थानिय समुदायमा ठूलो राहत र आशा ल्याएको छ।”
पीडित रामकृष्ण खनालले बाढी र पहिरोका कारण आफू र आफ्नो परिवारलाई ठूलो पीडा भोग्नु परेको बताए। “बाढीले हाम्रो सबै पशुपन्छी मारे र घर पनि पुरै नष्ट भयो। तर, आज हामीलाई नयाँ घर प्राप्त भएको छ। यो घर हाम्रो लागि नयाँ जीवनको सुरुवात हो,” उनले भने।
आगामी दिनमा, यस्ता घरहरू नेपालभर निर्माण गर्ने योजना रहेको छ, जसले अझ धेरै प्रभावित परिवारहरूलाई सुरक्षा र आश्रय प्रदान गर्ने सरोकारवालाहरूको विश्वास छ।
प्रतिक्रिया दिनुहोस्