भन्सारका समस्या समाधानका लागि निजी क्षेत्र र सरकारसँगै हिँड्न जरुरी छः अर्थसचिव घिमिरे


काटमाडाैँ । अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले भन्सारका समस्या समाधान र सुधारका लागि निजी क्षेत्र र सरकारसँगै हिँड्न जरुरी रहेको बताएका छन् ।

शुक्रवार नेपाल समुन्द्रपार निकासी पैठारी संघले भन्सार दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतको तुलनामा भन्सारमा धेरै सुधार भएको भन्दै आवश्यक भौतिक पूर्वाधार अझै बाँकी रहेको बताएका हुन् ।

उनले भन्सारमा निजी क्षेत्रलाई व्यापार सहजिकरणको लागि सरकारले आवश्यक रुपमा काम गरिरहेको बताए । उनले पछिल्लो समय मुलुक आयात र निर्यात दुवैमा सुधार हुनु मुलुकको लागि उत्साहजनक विषय भएको बताए । उनले कस्ट अफ डुइङ विजनेस बढ्ने भनेको निजी क्षेत्रको सरोकारको विषय मात्रै नभएर समग्र मुलुककै सरोकारको विषय भएको बताए ।

उनले भन्सारमा नयाँ प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको भन्दै भौतिक उपस्थिति बिना अनलाइन प्रणालीको विकास भइरहेको बताए । उनले निजी क्षेत्र र सरकार आरोप÷प्रत्यारोप भन्दा पनि एउटै उद्देश्य भन्सारका समस्या सुधार गर्न आवश्यक रहेको उल्लेख गरे ।