आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसक्योः प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन् ।

बिहीवार काठमाडौँमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले आइटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको बताए । उनले नेपालले तिब्रताका साथ विकासका कामहरुअघि बढाइरहेको उल्लेख गर्दै आइटी क्षेत्रमा पनि उल्लेख्य रुपमा अघि बढिरहेको उल्लेख गरे ।

केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरु रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको उनकाे भनाइ छ । देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको उनले बताए ।

प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन सरकारले काम गरिरहेको उनले उल्लेख गरे । उनले सन् २०२६ मा नेपाललाई अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पु¥याउन चाहेको बताए ।

प्रधानमन्त्री ओलीले आइटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने हिसावले सरकार अघि बढेको उनले उल्लेख गरे ।