काठमाडाैँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर नरहेको बताएका छन् ।
सोमवार पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर एकको नेतृत्व गरेदेखि नै सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिँदै आएको बताएका हुन् ।
अहिले पनि संघ, प्रदेश र स्थानीय सरकार मिलेर समुदायिक विद्यालयको भौतिक संरचना र गुणस्तर वृद्धिमा जोड दिइरहेको बताए। सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षा दिनुका साथै अतिरिक्त क्रियाकलापमा पनि निजी क्षेत्र भन्दा कमजोर नरहेको बताए ।
“मैले यो क्षेत्रको नेतृत्व गर्दै आइसकेपछि स्कुलहरुमा, त्यसमा पनि सामुदायिक विद्यालयहरुको शैक्षिक वातावरण जुन छ त्यसमा सुधार ल्याउनका लागि, पूर्वाधारहरुको आवश्यक हुन्छ, त्यसलाई जोड दिएर हामीले काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रभित्र पर्ने सम्पूर्ण सामुदायिक स्कुलहरुमा हामीले यहाँ जोड दिएका छौँ । संघ, प्रदेश र स्थानीय सरकार मिलेर सामुदायिक विद्यालयको पूर्वाधार निर्माण गर्न सक्दो काम गरेका छौँ,”उनले भने ।
उपप्रधानमन्त्री सिंहले विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्नेकुरामा सामुदायिक विद्यालयको भुमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्