विपद् प्रभावितको गोपनीयता र मर्यादा रक्षा गर्न मन्त्री वादीको अपिल


महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद् प्रभावित नागरिकको मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह गरेकी छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै मन्त्री वादीले यस्तो आग्रह गर्नुभएको हो । उहाँले राहत वितरणका नाममा पीडितको अनुमतिविना तस्बिर वा भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गर्ने कार्यलाई रोक्न आग्रह गर्दै बालबालिकाको अधिकार र सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिइन् ।

मन्त्री वादीले हालसम्म बाढीका कारण प्रभावित ६ हजार ४५९ जनाले मनोसामाजिक प्राथमिक सहायता प्राप्त गरेको जानकारी दिइन् । उनकाअनुसार उद्धार कार्यमा खटिएका १५५ कर्मचारी र सुरक्षाकर्मीलाई तनाव व्यवस्थापन तालिम दिइएको छ भने प्रभावितमैत्री सेवा प्रवाहका लागि थप १०२ जनालाई अभिमुखीकरण गरिएको छ ।

विपद् प्रतिकार्यमा गैरसरकारी संस्थाहरूको भुमिकाबारे बोल्दै मन्त्री वादीले समाज कल्याण परिषद्बाट परियोजना स्वीकृति प्रक्रियालाई थप द्रुत बनाइएको बताइन् ।

भदौ १५ यता १४९ नयाँ परियोजना स्वीकृत भएका छन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूबाट करिब ५० करोड ४२ लाख र राष्ट्रिय संस्थाबाट २० करोड ५७ लाखभन्दा बढीको राहत सामग्री परिचालन भएको मन्त्रालयले जनाएको छ । मन्त्री वादीले राहत वितरण गर्दा पीडितको अपमान हुने खालका गतिविधि रोक्न सचेत गराइन्।

मन्त्री वादीले भनिन्, ‘पीडितलाई सहयोग गर्दा उनीहरूको घाउमा नुन थप्ने होइन, घाउ निको पार्ने वातावरण बनाउनुपर्छ ।’
उनले विशेषगरी बालबालिकाको पहिचान खुल्ने गरी सामग्री सार्वजनिक नगर्न र महिला तथा पीडितलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न सबैमा आग्रह गरिन् ।

विपद्को जोखिमलाई अवसरका रूपमा लिई हुन सक्ने मानव बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी सीमा नाका र होल्डिङ सेन्टरहरूमा निगरानी बढाइएको छ । मन्त्रालयले राहत र उद्धारलाई मात्र प्राथमिकता नदिई प्रभावितको पुनस्र्थापना, जीविकोपार्जन र दीर्घकालीन सामाजिक संरक्षणका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको जनाएको छ । –