ट्रम्पकाे सहयाेग राेक्ने नीतिले छैठौँ राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी स्थगन


काठमाडाैँ । ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ आयोजना हुन लागेको छैठौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८१ स्थगन गरिएको छ। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, ललितपुर र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा यो प्रदर्शनी फाल्गुन १५ देखि १८ गतेसम्म बुटवलमा हुन लागेको थियो।

तर अमेरिकी सरकारले नेपाललाई दिँदै आएको आर्थिक सहयोग ९० दिनका लागि स्थगित गरेपछि यो प्रदर्शनी आयोजना गर्न असम्भव भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार यूएसआईडी मार्फत नेपाललाई दिइने अनुदान रकम रोकिएकोले यस प्रदर्शनीका लागि आवश्यक आर्थिक सहयोग पनि प्रभावित भएको र शनिबारदेखि युएसआइडीको वेबसाइट बन्द गरिएकाे छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माका अनुसार, अमेरिकी सरकारले दिँदै आएको आर्थिक सहयोग रोकिएपछि प्रदर्शनीका लागि आवश्यक तयारी गर्न समय नाघेको र आर्थिक व्यवस्थापनमा समस्या आएकोले यो प्रदर्शनी स्थगन गर्न बाध्य भएका हाे । उनले यसले गर्दा पर्न गएको असुविधाको लागि माफी माग्दै अर्को सूचना सम्म प्रदर्शनी स्थगन गरिएको जानकारी दिए।