अस्पतालबाट आज डिस्चार्ज हुँदै अर्थमन्त्री विष्णु पौडेल


काठमाडौं । कीर्तिपूर अस्पतालमा उपचाररत् उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेल आज डिस्चार्ज हुने भएका छन् । अस्पतालले सोमबार एक विज्ञप्ती जारी गर्दै अर्थमन्त्री पौडेलको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने जानकारी दिएको छ ।

त्यस्तै उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने भएको छ । आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले केही दिन उपचार गर्नुपर्ने भएकोले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले मेयर आचार्यलाई संक्रमणको जोखिम कम गर्न भेटघाट बन्द गरेको छ । आचार्यको पनि जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै समस्या नदेखिएको चिकित्सकहरुले जनाएका छन् ।

शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा आगोमा बेलुन पड्किँदा पौडेल र आचार्य घाइते भएका थिए ।