काठमाडौँ । यातायात व्यवस्था विभागले इन्धनको बजार मूल्यमा आएको गिरावटका आधारमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर २ प्रतिशतले घटाएको छ। विभागले सार्वजनिक गरेको सूचनाअनुसार नयाँ भाडादर २०८३ असार १७ गतेदेखि लागू हुनेछ।
विभागका अनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्ने वैज्ञानिक प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी बढे वा घटेमा भाडादर स्वतः समायोजन गरिने व्यवस्था छ। पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर रु.१२५.८३ रहेकोमा हाल घटेर रु. ११३.८३ कायम भएपछि भाडा पुनः समायोजन गरिएको हो।
सूचनामा उल्लेख भएअनुसार वैज्ञानिक प्रणालीअनुसार यात्रुवाहक सार्वजनिक सवारी, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक तथा तराईका मार्गमा सञ्चालन हुने मालवाहक सवारीको भाडा क्रमशः ६.५ प्रतिशत, १२.१ प्रतिशत र १४.३ प्रतिशत सम्म घट्नुपर्ने अवस्था देखिए पनि तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयअनुसार यसअघि सबै प्रकारका सार्वजनिक सवारीको भाडा ५ प्रतिशत मात्रै बढाइएको थियो।
विभागले त्यसबेला पूर्ण रूपमा लागू हुन नसकेको भाडा समायोजन तथा हाल पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीलाई समेत आधार मानेर यात्रुवाहक र मालवाहक दुवै प्रकारका अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा २ प्रतिशतले घटाउने निर्णय गरिएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्