काठमाडाैँ । सरकारले दिने अनुदान र सहुलियत ऋण वास्तविक किसानलाई मात्रै दिनुपर्नेमा कृषि उद्यमीहरूले जोड दिएका छन् ।
सरकारले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने उनीहरूको भनाइ छ । बज्रबराई च्याउ उत्पादन उद्योगका सञ्चालक विकास देशारले नियमित मौसमी खेती गर्नेहरूले नभई नियमतिक कृषि खेती गरिरहेका कृषकहरुले सरकारी अनुदान सहयोग पाउनुपर्ने बताए ।
उनले अनुदान पाउनकै लागि कृषि खेती गर्ने प्रवृत्ति मौलाउँदै जाँदा सरकारी बजेटको दुरुपयोग भइरहेको बताए । कृषि अनुदान र सहुलियतमा ऋण कृषि उत्पादनको आधारमा दिनुपर्ने उनको भनाइ छ । उनले खेती र उत्पादनसम्बन्धी आधारभूत ज्ञान समेत नभएका किसानलाई अनुदान दिँदा समस्या झनै जटिल बन्दै जाने बताए ।
एसएस एग्रीकल्चर फार्मका सञ्चलाक प्रदीप सिम्खडाले कृषि व्यवसाय गर्ने किसानले शुरुवाती चरणमा सरकारी अनुदान पाउनुपर्ने बताए । स्थापित भइसके पछिका किसानले अनुदान नपाएपनि व्यवसाय अगाडि बढाउन सक्ने उनको भनाइ छ । आइतवार सम्पन्न नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोमा सहभागी उनले शुरुवाती दिनहरुमा कृषि क्षेत्रमा काम गर्न गाह्रो हुने भएको कारण सरकारले आवश्यक सहयोग गर्न जरुरी रहेको बताए । गरिखाने किसानले सरकारी अनुदान पाउन सकेमात्रै कृषि क्षेत्र फस्टाउने उनको धारणा छ ।
कनेक्ट किसान डिजिटल प्लेटफर्मका सहसंस्थापक राजन दाहालले कृषि क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न नसकेको बताए । उनले कृषि क्षेत्रमा भएको लगानी बिस्तारै खस्कँदै गएको देखिएको बताए । नेपालले कृषि क्षेत्रसँग सम्बन्धीत कार्यक्रमहरू भारतको कृषि क्षेत्रसँग सम्बन्धित रहेर गर्नुपर्ने उनको बुझाइ छ । कृषि मेसिनरीको बढीभन्दा बढी सदुपयोग गर्न नसके नेपालमा कृषि उत्पादमा ह्रास आउने र कृषक पलायन बढ्दै जाने बताए ।
सरकारले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न नसके कृषि उत्पादनमा ह्रास आउने र कृषक पलायन बढ्ने उनको भनाइ छ । आइतवार सम्पन्न नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोमा कृषक र कृषिसम्बन्धी चासो राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकको भनाइ छ । प्रदर्शनीले कृषि सम्बन्धी प्रविधि, बीउबिजन, उत्पादन, बजारीकरणका लागि सहयोग पुगेको आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्