२० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड जारी गर्दै माछापुच्छ्रे क्यापिटल


काठमाडौं । माछापुच्छ्रे क्यापिटलले सामुहिक लगानी कोष (म्युचुअल फण्ड) एनबीएल इक्यिुटी फण्डको इकाईको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

क्यापिटलले यहि फागुन २२ गतेदेखि २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी योजना एमबीएल इक्विटी फण्ड बिक्री खुला गर्ने भएको हो । यो १२ वर्षे समयवधी रहेको बन्दमुखी योजना हो ।

फण्डले १५ प्रतिशत इकाई मध्ये १४ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

फण्डको इकाईमा लगानीकर्ताले छिटोमा फागुन २६ गतेसम्म र ढिलोमा चैत ७ गतेसमम आवेदन दिन सक्नेछन् । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।