देशका विभिन्न भागमा आंशिक बदली र हल्का वर्षाको सम्भावना


काठमाडौँ । देशका हिमाली तथा पहाडी भूभागमा आज आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।

दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र ती क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाको अनुमान छ । तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने अनुमान छ ।

राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।