काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ७ अनुसार रोल्ड ओट्स तथा परम्परागत नेपाली खाद्य पदार्थ मस्यौराको स्वच्छता तथा गुणस्तर मापदण्ड स्वीकृत गर्ने निर्णय भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा. गोविन्द प्रसाद शर्माको अध्यक्षतामा बबरमहलस्थित विभागको सभाकक्षमा बैठक सम्पन्न भएको हो। विभागका महानिर्देशक संजीव कुमार कर्ण सदस्य सचिव रहने समितिमा विभिन्न निकायका १५ जना प्रतिनिधि सहभागी छन्।
बैठकले स्वीकृत मापदण्डहरू नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मापदण्ड राजपत्रमा प्रकाशित भएपछि लागू हुने र सोअनुसार अनुगमन, निरीक्षण, परीक्षण तथा नियमन सहज हुने विभागले जनाएको छ।
यसैगरी, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नियमावली तयार पार्ने निर्णय पनि बैठकले गरेको छ। विभागले नियमावलीको मस्यौदा तयार गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गर्नेछ।
प्रतिक्रिया दिनुहोस्