काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गरेका छन्। नेपालका लागि जापानका राजदुत मायडा तोरुसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि जापानी राजदुत समक्ष आग्रह गरेका हुन् ।
मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको बताउँदै, आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षाको व्यक्त गरे । उनले जापानको प्रविधि प्रयोगमार्फत उत्पादित वृद्धिको परिणाम र समग्र कृषि क्षेत्रमा पुगिएका उपलब्धिहरूलाई महत्व दिँदै नेपालको कृषि क्षेत्रलाई अझ थप समृद्ध बनाउन जापानसँग प्राविधिक सहकार्यको अवसर खुला रहेको उल्लेख गरे ।
“जापानले प्रविधिको प्रयोग र यसको प्रभावलाई कृषि क्षेत्रमा महत्वपूर्ण बनाएको छ, जसलाई नेपालले अपनाउन जरुरी छ। अहिले पनि जापानी स्वंयसेवकहरूले हाम्रो मन्त्रालयका विभिन्न कार्यालयहरूमा सहयोग गर्दै आएका छन्, जसले गर्दा नेपाली कृषकहरूले जापानमा प्रचलित कृषिका अभ्यासहरू सिक्ने अवसर पाएका छन्,” मन्त्री अधिकारीले भने ।
मन्त्री अधिकारीले नेपालले कृषिमा लगानी दशक घोषणा गर्दै विदेशी लगानी भित्र्याउने नीति अपनाएको उल्लेख गर्दै, जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानीको अवसरका बारेमा जानकारी गराउन र सहजीकरण गर्न राजदुतसँग आग्रह गरे । आगामी वर्ष नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुने उल्लेख गर्दै, यस अवसरमा जापानको निःस्वार्थ सहयोग अझ बढी बढ्ने अपेक्षासमेत व्यक्त गरे ।
भेटवार्तामा जापानी राजदुत तोरुले नेपालमा कृषि क्षेत्रको ठूलो सम्भावना रहेको बताएका छन्। उनले कृषिमा चलिरहेका सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा थप सहयोगका सम्भावनाहरूको अध्ययन गर्ने प्रतिबद्धता जनाएका छन्।
“जापानले कृषि विकासमा उपकरण प्रयोगलाई प्राथमिकता दिएको छ र नेपालले पनि कृषिमा आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ,” राजदुत तोरुले भने । नेपालको चिया र हर्बल उत्पादनका लागि जापान राम्रो बजार बन्न सक्ने भएकाले यसलाई निर्यातका लागि सहकार्य गर्न सकिने कुरा व्यक्त गरे ।
नेपाल र जापान बिचको मित्रता र सहयोगको यो नयाँ अध्यायले कृषि क्षेत्रको विकासमा थप प्रगति ल्याउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस्