काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोका अटोमोबाइल कम्पनीलाई एक महिनाका लागि २५ प्रतिशत ट्यारिफ छुट दिने घोषणा गरेका छन्। यो निर्णयले अमेरिकी अटो उद्योगलाई राहत दिने अपेक्षा गरिए पनि समग्र व्यापार तनाव भने कायमै रहेको छ।
“ट्यारिफ छुट अमेरिकी स्वतन्त्र व्यापार सम्झौताका नियमहरू पालना गर्ने कम्पनीहरूका लागि मात्र हुनेछ,”ह्वाइट हाउसले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अटोमोबाइल उद्योगका लागि यो घोषणा महत्त्वपूर्ण मानिएको छ। अमेरिकी बजारका लागि गाडी उत्पादन गर्ने प्रमुख कम्पनीहरू फोर्ड, जीएम र स्टेलान्टिसलाई यसले राहत दिनेछ। ट्यारिफ छुटको घोषणा भएसँगै जीएमको शेयर ७.२ प्रतिशत र फोर्डको शेयर ५.८ प्रतिशतले बढेको छ।
यसअघि ट्रम्प प्रशासनले अटोमोबाइल उद्योगलाई असर पार्ने ट्यारिफ घोषणा गरेको थियो, जसका कारण गाडीका पार्ट्सको आपूर्ति श्रृंखला प्रभावित भएको थियो। उत्तर अमेरिकी बजारमा गाडी उत्पादनका लागि आवश्यक सामग्री सीमाबाट बारम्बार आयात-निर्यात गरिन्छ, जसमा ट्यारिफ लगाउँदा लागत वृद्धि हुने र उपभोक्तालाई पनि महँगो पर्ने विश्लेषकहरूले बताएका छन्।
यसबाहेक, क्यानडाबाट आयात हुने कच्चा तेल र पेट्रोलियम उत्पादनमा लगाइएको १० प्रतिशत अतिरिक्त ट्यारिफ हटाउने विषयमा पनि छलफल भइरहेको बताइएको छ। क्यानडाले अमेरिकाले ट्यारिफ फिर्ता लिएमा आफूले पनि जवाफी ट्यारिफ हटाउने संकेत गरेको छ। तर, अहिलेसम्म वार्ता निष्कर्षमा पुगेको छैन।
अमेरिकी अटोमोटिभ पोलिसी काउन्सिलका अध्यक्ष म्याट ब्लन्टले अमेरिकी स्वतन्त्र व्यापार सम्झौता अन्तर्गतका कठोर नियम पालना गर्ने कम्पनीहरूलाई ट्यारिफ छुट दिने निर्णय स्वागतयोग्य भएको बताएका छन्। तर, उद्योग क्षेत्रले लामो समयसम्मको नीतिगत स्थायित्व चाहिने भन्दै ट्रम्प प्रशासनलाई थप स्पष्ट नीति ल्याउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्