काठमाडौँ । डेरी उद्योग संघले अवैध रुपमा सिमापारीबाट भित्रने दुग्धजन्य पदार्थहरुको नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई गुहारेकाे छ । देश दूध उत्पादनमा नेपाल आत्मनिर्भर भएर दूधको उत्पादन बढ्दै गएपनि अवैधरुपमा दुग्धजन्य पदार्थहरुको आयात भइरहेकोले यसलाई नियन्त्रण गर्न संघले निवेदन गरेको हो ।
दुध उत्पादन बढ्दै गएको अनुपातमा विगत दुई–तिन वर्ष देखि कोभिड लगायतका कारण उपभोक्ताको क्रयशक्तिमा आएको मन्दीले दुग्धजन्य पदार्थहरुको आन्तरिक खपत हुन नसक्दा स्टक बढेर डेरी उद्योगहरुमा चालु पुँजीको अभाव हुन गई यस्को प्रत्यक्ष असर किसान देखि उद्योगहरुमा पर्न गएको विकराल समस्यालाई सम्वोधन गरि मिल्क होलिडे हुन नदिन नेपाल सरकारले २०८० फागुन २ गतेको निर्णयबाट दूध तथा दुग्धजन्य पदार्थहरुको आयात स्थगन गरेको उल्लेख गरिएको छ । ।
संघका अनुसार दुग्धजन्य पदार्थको आयात स्थगनले किसानको बजार सुनिश्चित गर्न केहि राहत भई आन्तरिक खपत पूर्ति गर्न डेरी उद्योगहरुले थप लगानी बढाएर आधुनिकीकरण र उत्पादन विविधिकरण गरि उपभोक्ताहरुको रुचि अनुसारका गुणस्तरीय दुग्धजन्य पदार्थ उत्पादन हुदै गइरहको र अहिले दूध संकलन, ओसार पसार, प्रशोधन र विक्रि वितरणमा करिब एक खर्ब ५० अर्ब रुपैयाँको लगानी भई आयात प्रतिस्थापन हुनुको साथै देश भरिका करिव ६ लाख कृषक परिवार लावान्वित भई थप रोजगारीका अवसर सिर्जना भएको छ ।
आयात स्थगन हुँदा पनि अवैध रुपमा सिमापारी बाट विदेशी ब्राण्डका स्किम मिल्क पाउडर, डेरी ह्वाइटनर, वटर, घिउ, होल मिल्क पाउडर, चिज, आदी दुग्धजन्य पदार्थहरु अनाधिकृत रुपमा चोरी तस्करी भई व्यापारिक प्रतिष्ठानहरुमा छ्यापछ्याप्ती खुल्लम्खुल्ला विक्रि वितरण भएका कारण एकातर्फ अर्बौको राजस्व संकलनमा असर पर्न गएको संघले जनाएको छ ।
संघले यसरी आएका दुग्धजन्य पदार्थले बजारको ठूलो हिस्सा ओगटेका कारण स्वदेशी वस्तु विक्रि हुन नसकि भुक्तानी चक्रको सन्तुलनमा असर पर्न जाँदा दूध उत्पादक किसान तथा उद्यमीलाई थप मार पर्न गएकोले किसान तथा उद्यमीलाई वचाई राख्न भारतीय सिमा नाकाबाट अवैध रुपमा चोरी पैठारी भई आउने विदेशी ब्राण्डका स्किम मिल्क पाउडर, डेरी ह्वाइटनर, वटर, घिउ, होल मिल्क पाउडर, चिज, आदी दुग्धजन्य पदार्थहरुको नियन्त्रणका लागि सबै सुरक्षा नाकाहरुमा आवश्यक निर्देशन दिई आत्मनिर्भर भइसकेको नेपालको दुग्धक्षेत्रको संरक्षणमा आवश्यक सहयोग गर्न सशस्त्र प्रहरीलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्