काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रलाई व्यवस्थित र चुनौतीबाट पार लगाउनका लागि नयाँ शैली र सुधारका उपायहरूको आवश्यकता रहेको बताएका छन् ।
बुधबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित ‘रिभाइटलाइजिङ द टेलिकम इन्डष्ट्री’ कार्यक्रममा मन्त्री गुरुङले टेलिकम कम्पनीहरूको घट्दो आम्दानीको समस्याको समाधानका लागि नयाँ नीतिहरूको आवश्यकता औंल्याए ।
मन्त्री गुरुङले दूरसञ्चार अपरेटरलाई नयाँ शैलीमा काम गर्नका लागि सुझाव दिँदै, सरकार कानुन सुधारका लागि गम्भीर रहेको बताए। उनले दूरसञ्चार ऐनको मस्यौदा निर्माणको चरणमा रहेको जानकारी दिँदै भने,”नयाँ प्रविधि र अनुमतिपत्र शुल्कलाई समेटेर समयसापेक्ष बनाउने काम भइरहेको छ।”
उनले नियामकीय निकाय, दूरसञ्चार प्राधिकरणलाई विपक्षी नभएर नियमनको काम गर्ने गरी सुधारको निर्देशन पनि दिएका छन् । प्राधिकरणलाई सहजकर्ताको रूपमा काम गर्नको लागि सुझाव दिँदै, उनले बलियो नियामकीय निकायको आवश्यकता जोड दिए।
मन्त्री गुरुङले २० अर्ब रुपैयाँको महँगो नवीकरण शुल्कको बोझलाई कम गर्ने प्रयास गर्दै अब सरकारले नयाँपनसहित दूरसञ्चार क्षेत्रलाई अघि बढाउने योजना बनाएको जानकारी दिएका थिए। “दूरसञ्चार क्षेत्रको सिधा सञ्जाल नेपालको डिजिटलाइजेसनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रमा रहेका समस्याहरू सुधार गर्न प्रतिबद्ध छु,” उनले भने।
दूरसञ्चार क्षेत्रबाट आउने राजस्व निरन्तर घट्दै गएको अवस्थामा त्यसलाई बढाउनका लागि मन्त्री गुरुङले आफू जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्