चैत १ देखि अनलाइन नागरिकता सिफारिस सेवा सुरू गर्दै काठमाडौँ महानगर


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले नागरिकता सिफारिसलाई चैत १ गतेदेखि अनलाइन प्रणालीमा आवद्ध गर्ने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा आज सूचना प्रविधि विभागले वडा सचिवहरुलाई केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (सिसिआइएमएस) सञ्चालनको प्रयोगात्मक अभ्यासका लागि अभिमुखीकरण कार्यक्रम गरेर युजर नेम र पासवर्ड प्रदान गरेको छ ।

महानगरपालिकाको सेवालाई सूचना प्रविधिमा आधारित स्वचालित बनाउन सुशासन समिति र सूचना प्रविधि समितिबाट अन्तरसम्बन्धित प्रणाली सञ्चालन गर्ने निर्णय भएको छ । अनलाइन नागरिकता शिफारिससँग सम्बन्धित प्रणाली महानगरपालिकाको प्रशासन र सूचना प्रविधि विभागसँग अन्तरसम्बन्धित छ ।

विवरण प्रविष्ट गराउने, कागजपत्र प्रमाणित गरेर स्क्यान कपी राख्ने र विवरण पठाउने प्रणालीका मुख्य काम हुन् । प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्नुहुन्छ, कर्मचारीको क्षमता विकासका लागि विभागले पूर्ण क्षमतामा काम गर्नेछ ।

अभिमुखीकरण कार्यक्रममा काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले, प्रणाली सञ्चालन भएपछि नागरिकतासँग सम्बन्धित सेवालाई सरल, सहज बनाउन र यससँग सम्बन्धित अभिलेखलाई व्यवस्थित गराउन सकिने बताउनुभयो । गृह मन्त्रालयले कार्यान्वयनमा ल्याएको यो प्रणाली २० जिल्लाका करिब २ हजार ५ सय वडाले कार्यान्वयनमा ल्याएका छन् ।

रिजालका अनुसार यो प्रणालीका २ वटा मोड्युल छन् । एउटा इन्टरनल मोडयुल र अर्को एक्टरनल मोड्युल । इन्टरनल मोड्युल (आन्तरिक प्रणाली) इन्ट्रानेटबाट जोडिएका कम्प्युटरमा मात्र र एक्टरनल मोड्युल (सार्वजनिक) इन्टरनेट भएका कम्प्युटरबाट चलाउन सकिन्छ ।

“महानगरपालिकाका वडाहरुमा जडान गरिएका कम्प्युटरबाट प्रणाली चलाउन सकिन्छ । हामीले सबै वडालाई युजर नेम र पासवर्ड दिएका छौँ,” सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले भने,”वडालाई पर्ने प्राविधिक समस्या समाधानका लागि विभागले सहजीकरण गर्नेछ ।”

अभिमुखीकरणमा गृह मन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीले, वंशज, वैवाहिक अङ्गीकृत र गैरआवासीय नागरिकता सिफारिसका नमूनामार्फत प्रणाली चलाउने अभ्यास गराएका थिए । उनका अनुसार यो प्रणाली नयाँ नागरिकता लिनका लागि मात्र प्रयोगमा ल्याइएको छ ।