काठमाडौँ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोश्रो दिन नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल र सामाजिक सुरक्षा कोषबिच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा काठमाडौँमा सुरू भएको पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा उक्त सम्झौता सम्पन्न भएको हो।
समझदारीअनुसार नाडाले आफ्ना सदस्य संघसंस्था र प्रतिष्ठानहरूलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ अनुरूप सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनेछ। यसका साथै, कोषले सामाजिक सुरक्षा योजनाहरूको प्रचारप्रसारका लागि नाडासँग सहकार्य गर्दै आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ।
समझदारी पत्रमा नाडाका अध्यक्ष करण चौधरी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन्। यस सम्झौताले नाडा र सामाजिक सुरक्षा कोषबिचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
समझदारीअनुसार नाडाले अब प्रदेशस्तरमा सञ्चालन गर्ने भन्सार, भ्याट तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रममा सामाजिक सुरक्षा कोषबाट प्रशिक्षक उपलब्ध गराउने व्यवस्था मिलाउनेछ। हस्ताक्षर समारोहमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्