काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागु पूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान विभिन्न विकृति, विसङ्गति र कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न होलीले प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजमा एकता कायम गर्न पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले भने, “विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो। यस पर्वले समस्त नेपालीहरूलाई रिस-राग परित्याग गरी प्रेम र आत्मीयता अभिवृद्धि गर्न प्रेरित गर्नेछ, जसले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत गर्नेछ ।”
होलीमा खेलिने विभिन्न रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै उनले यही विविधता बीचको एकता नै नेपाली पहिचानको विशेषता भएको बताए ।
राष्ट्रपति पौडेलले नेपालीहरूको विशेष पर्व होलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
विविध रङ्गीचङ्गी कपडाले सजाइएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चीर दहन गरेपछि समापन हुने परम्परा रहेको छ। रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावको सन्देश दिने होली देशभर हर्षोल्लासका साथ मनाइन्छ ।
होली पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्