सिटिजन्स बैंकले १० र १५ वर्षे सेवा अवधि पूरा गरेका ७९ कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निरन्तर १० वर्ष र १५ वर्ष सेवा गरेका ७९ जना कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेको छ। बैंकले शुक्रबार ‘कर्मचारी दिवस’ मनाउने क्रममा उनीहरूलाई सम्मान गरेको हो।

बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले १० वर्ष सेवा अवधि पूरा गरेका ६१ जना तथा १५ वर्ष पूरा गरेका १८ जना कर्मचारीलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन्। हाल बैंकमा १,८०० जना कर्मचारी कार्यरत रहेको जानकारी दिइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ पोखरेलले बैंकलाई हालको स्थानसम्म ल्याउन कर्मचारीहरूको मेहनत, लगनशीलता, प्रतिबद्धता र जिम्मेवारी महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि उनीहरूबाट पूर्ण योगदानको अपेक्षा व्यक्त गरे।

सन् २००७ (वि.सं. २०६४) मा जम्मा ४३ जना कर्मचारीसहित सेवा सुरू गरेको सिटिजन्स बैंकले यस वर्ष १८औं वार्षिकोत्सव मनाउँदै उन्नाइसौं वर्षमा प्रवेश गर्ने क्रममा विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ। वैशाख ७ गते बैंकको औपचारिक वार्षिक उत्सव हुनेछ। त्यसै अवसरमा बैंकले २०८२ सालको नयाँ क्यालेन्डर पनि सार्वजनिक गरेको छ।