काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा गरिएको संयुक्त निरीक्षणअनुसार काठमाडौँका तीन खाद्य व्यवसायमा अवैध रूपमा चामल प्याकिङ तथा बिक्री वितरण गरिएको पाइएको छ।
विभागको रेपिड रेसपाेन्स टिम (आरआरटी) ले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा स्थानीय निकायका प्रतिनिधिहरूसँगको सहकार्यमा तारकेश्वर–९, नागार्जुन–७, र नागार्जुन–४ मा रहेका खाद्य व्यवसायको स्थलगत अनुगमन गरेको हो।
निरीक्षणका क्रममा तारकेश्वर–९ मा रहेको देवकोटा चिउरा तथा चामल मिलले बिना अनुमतिपत्र टाइचिन चामल सादा पहेँलो बोरामा प्याकिङ गरेको र अन्य ब्रान्डको नाममा बिक्री वितरण गरेको पाइएको थियो। उक्त गोदामबाट २ हजार ५१६ बोरा चामल र १ हजार ०४३ बोरा चिउरा फेला पारिएको थियो, जसलाई तत्काल सिलबन्दी गरिएको छ। खाद्य ऐन बमोजिम थप अनुसन्धानका लागि केही नमूना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको छ।
यस्तै, नागार्जुन–७ मा रहेको हलेसी फूड्स खाद्य उद्योग प्रा. लि. ले पनि खाद्य अनुमतिपत्र नलिई अन्य ब्रान्डका नाममा चामल प्याकिङ तथा बिक्री वितरण गरेको भेटिएको छ। उक्त व्यवसायको गोदाममा १ हजार ६४६ बोरा चामल फेला परेको थियो, जसलाई पनि सिलबन्दी गरिएको छ। सो व्यवसायीलाई पनि खाद्य ऐनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ।
त्यसैगरी, नागार्जुन–४ मा रहेको गढीमाई प्याकेजिङ उद्योगले समेत बिना अनुमतिपत्र अन्य ब्रान्डका चामल प्याकिङ गरी बिक्री वितरण गरिरहेको पाइएको छ। सो गोदामबाट ७७ हजार ८५० केजी चामल फेला परेको थियो, जुन हाल सिलबन्दी गरिएको छ। सो व्यवसायबाट संकलित नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार यी तीन व्यवसायलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको छ। विभागले व्यवसायीहरूलाई बिना अनुमतिपत्र खाद्य कारोबार नगर्न आग्रह गर्दै उल्लङ्घन गर्नेलाई कानुनी कारवाही गरिने चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस्