काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालतले स्वच्छ र प्रतिस्पर्धी बजार स्थापित गर्दै उपभोक्ताको अधिकार सुरक्षित गर्ने बताएका छन् ।
शनिवार त्रिपुरेश्वर स्थित उपभोक्ता अदालत उद्घाटन कार्यक्रममा बोल्दै उनले जनताको बदलिँदो आकाङ्क्षालाई सम्बोधन गर्न स्वच्छ र प्रतिस्पर्धी बजार प्रणाली आवश्यक रहेको बताएका हुन् ।
उनले भने “प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने व्यवस्था नेपालको संविधानको धारा ४४ मा गरिएको छ । नेपालको संविधानले उत्पादन वा विक्री वितरण गरिएका गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था समेत गरेको छ । उपभोक्ताको सार्वभौम संवैधानिक अधिकारको अनुभूति गराउनका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ जस्ता कानुन कार्यान्वयनमा आएका छन् । स्वच्छ र प्रतिस्पर्धी बजार प्रणाली रहनुपर्ने सामाजिक र कानुनी मान्यता विपरीतका यावत समस्यालाई समाधान गर्ने गरी नेपाल सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयमा बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । सङ्घीय विभागीय निकायहरूले विषयगत अनुगमनमा ध्यान केन्द्रित गरेका छन् भने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर–विषयगत क्षेत्रमा हस्तक्षेपकारी अनुगमन गरेको छ ।”
मन्त्री भण्डारीले उत्पादन क्षेत्र, सेवा क्षेत्र, व्यापार क्षेत्र, अत्यावश्यक वस्तु र खाद्य पदार्थ देखि समग्र वस्तु र सेवा बजारमा सरकारले गरेको अनुगमनकारी हस्तक्षेपले बजार अनुशासन पालना गराई उपभोक्ताको अधिकार संरक्षण गर्नमा सहयोग पुगेको बताए । उनले चाडपर्वका बेलामा भएको देशव्यापी बजार अनुगमनले मूल्यलाई नियन्त्रणमा राख्न, उपभोक्ता र विक्रेतालाई स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्न गराउन जागरूक राखेको बताए ।
मन्त्री भण्डारीले निरन्तर, नियमित र गुणस्तरीय अनुगमन तथा नियमनले नै बजारमा उपभोक्ताको हित र व्यावसायिक स्वार्थ बिच उचित सन्तुलन कायम गर्दै देश विकासको दिगो मार्ग निर्धारण हुने विश्वास व्यक्त गरे ।उनले उपभोक्ता अदालतको सुरुवाती दिनहरूमा आवश्यक पर्ने सबै प्रकारका वित्तीय, भौतिक र स्रोतसाधनको व्यवस्थापन गर्न मन्त्रालयका तर्फबाट प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री भण्डारीले उपभोक्ता अदालतको कामले नेपाली बजारमा गुणस्तर व्यवस्थापन, मूल्य नियमन, र उपभोक्ता गुनासोको सम्बोधन जस्ता क्षेत्रमा सुधार ल्याउन प्रभावकारी भूमिका निभाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्