किड्स ऐडुकेयरमा तेस्रो वार्षिक उत्सव र ग्रेजुएसन समारोह सम्पन्न, १३ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान


काठमाडौँ ।भक्तपुरको सूर्यविनायक नगरपालिका अवस्थित किड्स ऐडुकेयर ‘पहिलो पाठशाला’ मोन्टेश्वरी प्रि-स्कुलको तेस्रो वार्षिक उत्सव, ग्रेजुएसन समारोह तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

शनिवार आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बालबालिकाले नृत्य, गान, सांस्कृतिक प्रस्तुति तथा कविता वाचन गर्दै आफ्नो प्रतिभा देखाएका थिए । अभिभावकहरूले आफ्ना विचार राख्ने क्रममा विद्यालयको शिक्षा पद्धति, व्यवस्थापन तथा शिक्षकमण्डलको मेहनतको प्रशंसा गरेका थिए ।

विद्यालयकी सभाअध्यक्ष सुनिता मैनालीले समारोहमा खुशी व्यक्त गर्दै, समर्पित शिक्षकहरूको मार्गदर्शनमा हुर्केका, अन्वेषण गरेका र फस्टाएका बालबालिकाको उपलब्धिहरूलाई सम्मान गर्ने अवसर रहेको बताइन्।

उनले भनिन्, “दिनु भयो साना मुटुका टुक्रा विश्वास गरेर, त्यो खालि पाना रंगाई दिन्छौं, फुलबुट्टा भरेर।” विद्यालयबाट निस्कँदै गरेका बालबालिकालाई विदाई गर्दा विद्यालय परिवार हर्षित र भावुक दुवै भएको उनले उल्लेख गरिन्।

विद्यालयले बालबालिकालाई मात्र अंक र अक्षर चिनाउने मात्र नभई संस्कार, संस्कृति, व्यवहारिक ज्ञान, रचनात्मक कार्य, सामाजिक सीप, समस्या समाधान क्षमताको विकास, सिक्ने प्रेम, समग्र विकास (होलिस्टिक डेभलपमेन्ट) र भविष्यको तयारीसमेत गराउने मैनालीले बताइन्।

ग्रेजुएसन समारोह अन्तर्गत पहिलो ब्याचका १३ जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा अभिभावकहरूको गरिमामय उपस्थितिले विद्यालय परिवारलाई थप हौसला प्रदान गरेको विद्यालयका अध्यक्ष अनिमेश कुमार मिश्रले बताए।

उनले भने, “बालबालिकाको कला हेर्न अभिभावकले दिएको समयले नानीबाबुहरूको अनुहारमा एक अलग प्रकारको अमूल्य खुशी झल्किएको देख्दैछु। दशौं वर्षदेखिका अनुभवी शिक्षकहरूको मिहिनेत, विद्यालयका कर्मचारीहरूको स्याहार-सुसार, सरसफाइ तथा अभिभावकहरूको विश्वासले नै किड्स ऐडुकेयर सफल भएको छ।”

मिश्रले बालबालिकाले विद्यालय आउन हर्षित महसुस गर्नु सुखद संकेत भएको बताउँदै केही अभिभावकले बिदाको दिन समेत बच्चाहरू स्कुल आउन जिद्दी गर्ने गरेको जानकारी र भिडियो पठाएको स्मरण गरे। “घरपरिवारले नै बालबालिकालाई पहिलो पाठशालाका रूपमा आधारभूत ज्ञान दिन्छ, यही अवधारणालाई आत्मसात गर्दै हामीले ‘पहिलो पाठशाला’ भन्ने नारासहित विद्यालय सञ्चालन गरिरहेका छौं,” उनले भने।

कार्यक्रममा संगीतकार सागर गौतमको विशेष प्रस्तुति, शिक्षक तथा अभिभावकको नृत्य तथा गायनले माहोल उल्लासमय बनाएको थियो। साथै, विद्यालयका शिक्षक शुभद्रा थापा, सुनिता मैनाली र अनिमेश कुमार मिश्रले ग्रेजुएसन प्रमाणपत्र वितरण गरेका थिए ।