प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता


न्यूयोर्क । प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच बिहीबार भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्।

भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताए। उनले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरे। सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै उनको सफल कार्यकालका लागि बधाई दिए। उनले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताए।

भेटमा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा जलवायुजन्य विपद्का जोखिम न्यूनीकरणका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न संयुक्त राष्ट्रसंघको समर्थनका विषयमा समेत कुराकानी भएको थियो।