काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पोको आज चौथो तथा अन्तिम दिन । दैनिकजसो उपभोक्ताको घुँइचो लाग्ने गरेको मेलाको अन्तिम दिन अवलोकनकर्ता थप बढ्ने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।
मेलाको ६० हजार बढीले अवलोकन गर्ने र एक करोड रुपैँयाभन्दा बढीको कारोबार गने लक्ष्य आयोजकको छ । मेलाको तेस्रो दिन मात्र ३० लाख ७० हजार रुपैँयाको कारोबार भएको छ भने १७ हजार भन्दा धेरैले अवलोकन गरेको फ्यानले जनाएको छ ।

मेलाको तेस्रो दिन फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा पुष्प ब्यबसायी, मेला अबलोकनकर्ता, बिद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेका छन् । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रबेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरुलाई भने निशुल्क प्रवेशको व्यवस्था गरिएको मेला सहसंयोजक सुमन महर्जनले बताए ।

एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार भइरहेको कार्यक्रम संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ (सुनिल) ले जानकारी दिए । मेलामा फूलप्रेमी तथा अबलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचेअनुरुपनै कारोबार हुनेमा आफू विश्वस्त रहेको पनि संयोजक तामाङले बताए ।
उपभोक्ता पनि अन्तिम अबस्थामा आउने भएका कारण मेलाको अन्तिम दिन यसअघिको भन्दा धेरै कारोबार हुने अपेक्षा फ्यानको रहेको छ । फ्यानका महासचिव हिरामणी शर्माले भने, “यो वर्षको एक्स्पोमा हामीले अवलोकनकर्ताको उपस्थिति अनुमान गरिएभन्दा उल्लेख्य बढी पाएका छौँ, सम्पूर्ण फ्यान परिवार यसका लागि आभार व्यक्त गर्दछौँ । ”

मेलाको अन्तिम दिन सोमवार विभिन्न स्टलहरुले आआफ्नो तरिकाले छुटको व्यवस्था गर्ने बताइएको छ ।
नेपालमा बि.सं. २०११ सालमा सामान्य स्तरबाट पुष्प व्यवसायको सुरु भएको इतिहास रहेको छ । यस पछि पुष्प व्यवसायले बिस्तारै गति लिएको र बि.सं. २०४९ साल ताकासम्म लगभग सिमीत संख्यामा मात्रै पुष्प नर्सरी व्यवसायीहरु रहेको थियो ।
हाल नेपालमा ५२ जिल्लामा २६० हेक्टर भन्दा बढि क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको, १ हजार १७४ भन्दाबढी पुष्प व्यवसायीहरू संलग्न रहि व्यवसाय गरिरहेको, अनुमानित लगानी रु. ८ अर्व ८३ करोड भन्दाबढी रहेको, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा गरि ५१ हजार ५०० भन्दाबढी जनशक्तिहरू रोजगार रहेका छ। पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक कारोबार ३ अर्ब ६८ करोड भन्दाबढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्