काठमाडौँ। पश्चिमा र ग्लोवल नर्थका देशहरुले हरेक देशमा फरक—फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलिएको छ ।
भारतको नयाँ दिल्लीमा जारी राइसिना डायलगको दोस्रो दिनको एक प्लेनरी बैठकमा विश्वका नेताहरुले ग्लोवल नर्थ र पश्चिमा देशहरुले हरेक देशमा गर्ने व्यवहार फरक—फरक गरेका कारण शान्ति खल्बलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
ठोस एजेण्डा नभइ देशअनुसारको व्यवहार गर्दा द्वन्द्व बढिरहेको बताएका छन् । ग्लोवल अर्डरलाई फरक नजरले हेर्नुपर्छ भन्नेकुरा पनि उनीहरुले अघि सारेका छन् । अब बिस्तारै ग्लोवल साउथले विश्वशान्तिका लागि काम गर्नुपर्ने पनि उनीहरुले बताएका छन् ।
म्यानमार, अफगानिस्तान र युक्रेन जस्ता देशहरुमा ति देशहरुले अपनाएको नीतिले हेर्दा विश्वमा शान्ति खल्बलिएको मान्न सकिने नेताहरुले बताए । पछिल्लो दशमा अमेरकी दबदबाले विश्वशान्ति खल्बलाएको र डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालले त झन अब के हुन्छ भनेर भन्न नसकिने अवस्था रहेको नेताहरुले बताए ।
भारतीय विदेशमन्त्री एस जयशंकरले बढ्दो ग्लोवल साउथको प्रभुत्वलाई कसैले रोक्न नसक्ने र अबको विश्व शान्तिको लागि ग्लोवल साउथको भुमिका महत्वपूर्ण हुने बताए ।
सोमवारबाट शुरु भएको सम्मेलनमा विश्वको दक्षिणी भूभागका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहँदा भारतसँग सीमा जोडिएको ठूलो देश चीनको भने प्रतिनिधित्व छैन ।
सम्मेलनमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलका साथै युवा सांसद योगेश गौचन थकाली पनि सहभागी छन्। दक्षिण एशिया र एशिया प्रसान्त क्षेत्रको जल्दाबल्दा विषयमा छलफल गर्ने कार्यक्रमको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमावर एक विशेष कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
न्युजील्याण्डका प्रधानमन्त्री विशेष अतिथि रहनुभएको डाइलग ३ दिनसम्म चल्नेछ । विश्वका धेरै देशका विदेश मन्त्री, विषय विज्ञ, विभिन्न एजेन्सीका प्रमुखहरु यस डाइलगमा सहभागी हुँदैछन् ।
जनता, शान्ति र पृथ्वीको अवधारणामा कालचक्र नाममा यो राइसिना डायलग शुरु भएको छ ।
—न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्