‘एसईई’लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक गृहकार्य हुँदैछः मन्त्री भट्टराई


काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीवारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई)लाई व्यवस्थित, मर्यादित र शान्तीपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएकी छन् ।

मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले एसईईलाई परिक्षालाई व्यवस्थित गर्नको लागि परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परिक्षा बोर्ड लगायतका निकायहरूको नियमितजसो बैठक बसिरहेको बताएकी हुन् ।

परिक्षा अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृह मन्त्रालयसँग अनुरोध गरेको समेत बताइन् । उनले परिक्षा केन्द्रमा प्रहरी परिचालन गरेर विद्यार्थीहरूमा डर र त्रास पैदा गर्नुभन्दा व्यवस्थित रूपमा परिक्षा संचालन गर्न सामथ्र्यवान छौं भन्ने प्रमाणित गर्न प्रत्येक परिक्षा केन्द्रहरूलाई निर्देशन दिइएको समेत बताइन् ।

उनले विद्यालय शिक्षा विधेयकमा एसईईलाई प्रदेश राख्नेगरी व्यवस्था गर्नुपर्ने समेत बताइन् । “अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) को सन्दर्भमा धेरै कुराहरु उठिरहेका छन् । अब एसईईलाई व्यवस्थित बनाएर जाउँ भन्ने सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड लगायतका सरोकारवालाहरुका बैठक लगातार बसिरहेका छन् । एसईई परीक्षाको सुरक्षाको लागि पनि परीक्षा बोर्डले गृह मन्त्रालयसँग अनुरोध गरेको छ,” उनले भनिन् ।

यो एसईई संघीयताभित्रको भएको हुनाले एसईईलाई प्रदेशमा हस्तान्तरण गर्ने नीति ल्याउन अपरिहार्य रहेको मन्त्री भट्टराईको भनाइ छ ।