काठमाडौँ । प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बुले झापा जिल्लाका किसानहरू रासायनिक मल अभावका कारण गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद साँवाले मकै, तरकारी, चैते धान तथा काँक्रा, खरबुजा, करेला र लौका खेती गर्ने किसानहरूलाई आवश्यक पर्ने पोटास, युरिया र डिएपी मल सहज रूपमा उपलब्ध नभएर खेती प्रभावित भएको बताएका हुन् ।
सांसद साँवाले सरकारले बेलैमा मलको आपूर्ति सुनिश्चित नगर्दा कृषकहरू समस्यामा परेको उल्लेख गर्दै कृषि उत्पादनलाई बढावा दिन मल संकट समाधान गर्नुपर्नेमा जोड दिए।
“देशमा कृषि उपजको आयात बढ्दै गएको छ। चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा मात्रै ५१ अर्ब २४ करोड रुपैयाँ बराबरको धान, चामल र तरकारीजन्य वस्तु आयात भएको छ। यो अवस्था नियन्त्रण गर्न मल अभावको समस्या हटाउन जरुरी छ,”उनले भने।
किसानहरू उत्पादन घट्ने चिन्तामा रहेका बेला सांसद साँवाले सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरे।
“यदि सरकारले समयमा नै मल उपलब्ध गराउन सकेन भने कृषिमा आत्मनिर्भर बन्ने हाम्रो प्रयास कमजोर हुनेछ,”उनले थपे। सांसद साँवाले कृषि क्षेत्रको दिगो विकासका लागि दीर्घकालीन नीति ल्याउनुपर्ने आवश्यकता पनि औँल्याए।
प्रतिक्रिया दिनुहोस्