युवाहरूको विदेश जाने प्रवृत्ति रोक्न सरकार गम्भीर छ: प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूको विदेश जाने प्रवृत्ति रोक्न सरकार गम्भीर रहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा उनले शिक्षा, रोजगारी, उद्यमशीलता तथा औद्योगिक विकासका क्षेत्रमा सरकारको विभिन्न प्रयासबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीले शिक्षा प्रणालीलाई कम आँक्न नहुने उल्लेख गर्दै नेपालका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिरहेको बताए। उनले नेपालमा विश्वविद्यालय तथा क्याम्पसहरू खाली हुँदै जानु चिन्ताको विषय भए पनि देशभित्रै उच्च शिक्षाका अवसर पर्याप्त रहेको जिकिर गरे। “हाम्रो शिक्षा प्रणाली कमजोर मात्रै छैन, विद्यार्थीहरूले विदेशका कलेजहरूसँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट नतिजा ल्याएका छन्,”उनले भने ।

सरकारले युवाहरूलाई रोजगारी तथा उद्यमशीलतामा आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याएको प्रधानमन्त्री ओलीको दाबी छ। उनले स्टार्टअप कर्जा, सहुलियतपूर्ण ऋण, उद्यमशीलता तालिम तथा औद्योगिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।”स्वदेशमै अवसरहरू सिर्जना गर्न सरकारले विशेष कार्यक्रमहरू ल्याएको छ। यस वर्ष कम्तीमा ५०० जना उद्यमीलाई स्टार्टअप ऋण प्रदान गर्ने तयारी छ,” उनले भने ।

विदेश जानु व्यक्तिगत रोजाइ भए पनि युवाहरूको विदेश पलायनलाई पूरै नकारात्मक रूपमा लिन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ।