काठमाडाैँ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले सबै उद्यमी व्यवसायीलाई समान रुपले कारोबार र प्रतिष्पर्धा गर्ने मौका दिने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले कुनै निश्चित उद्योगी व्यवसायीको पक्षमा नीति निर्माण नगर्ने बताएका हुन् ।
उनले अर्थतन्त्रमा देखिएका कानूनी जटिलतालाई समाधान गर्न सरकार लागि परेको बताए । उनले विगतमा अर्थतन्त्रमा देखिएका विभिन्न विकृतिका कारण समस्या उत्पन्न भएको बताउँदै सरकारले लिएको लक्ष्यमा पुग्न नसकिएको बताए । उनले सरकारले राज्यका कुनैपनि निकायमार्फत तर्साउने, धम्क्याउने वा असुली गर्ने काम नगर्ने भन्दै उद्योग व्यवसायीलाई आश्वस्त पारे ।
“खास गरी अहिले हाम्रो अर्थतन्त्रमा अघि उद्योग मन्त्रीले पनि भन्नुभयो, केही कानूनी जटिलताहरू छन् । त्यसलाई हामीले सल्ट्याउँदै छौँ । हिजोका अर्थतन्त्रका केही विकृतिहरूलाई हामीले समाधान गर्दै जानुपर्नेछ । जुन उत्साह हामीले अपेक्षा गरेका छौँ त्यो रूपमा अझै पुग्या छैनौँ कि भन्ने हामीलाई पनि लागेको छ । तर एउटा दुई वटा कुरामा तपाईहरू निश्चिन्त हुनुहोस् । पहिलो कुरा राज्यले सरकारले कुनै निश्चित व्यवसायीको पक्षमा मात्रै कुनै नीति निर्माण गर्दैन । त्यस्ता व्यवसायको पक्षमा मात्रै कुनै निर्णय गर्दैन,” उनले भने ।
पूर्वअर्थमन्त्री खतिवडाले उद्योग व्यवसायीका लागि आवश्यक परेको अवस्थामा राज्यले छिटो बाटोबाट नीति निर्माण गरी कानूनी समस्या समाधान गर्ने बताए । पछिल्लो समय उद्योग व्यवसायमा देखिएको ऊर्जा समस्या समाधान गर्न उद्योगी व्यवसायीले आफ्नै पहलमा केही गर्नुपर्ने भन्दै सरकारले खेल्नुपर्ने भुमिकाका बारेमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्