काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट परीक्षण तथा नियमनको व्यवस्था लागू गरेको जनाएको छ। विभागका अनुसार नेपाल राजपत्रको खण्ड ७३, संख्या ५३ मा प्रकाशित अनिवार्य गुणस्तर मापदण्डअनुसार, २०८१ साउन २२ गतेदेखि खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा २ प्रतिशत निर्धारण गरिएको छ।
विभागका महानिर्देशक संजीव कुमार कर्णका अनुसार हालसम्म विभागको प्रयोगशालामा ट्रान्स फ्याट परीक्षण सुविधा उपलब्ध नभए पनि हाल डब्ल्यूएचओ नेपालसँगको सहकार्यमा परीक्षणको क्षमता विकास गरिएको छ। जीसी-एफआईडी प्रविधि प्रयोग गर्दै डब्ल्यूएचओ ग्लोबल सिम्प्लिफाइड प्रोटोकल विधिमार्फत परीक्षण गरिनेछ।
यसअघि, अन्तर्राष्ट्रिय विज्ञ डा. संजीत कान्जीलालको नेतृत्वमा विभागका १० जना खाद्य विश्लेषक कर्मचारीहरूलाई एक हप्ते तालिम प्रदान गरिएको थियो। अब विभागमै ट्रान्स फ्याट परीक्षण गर्न सकिने व्यवस्था मिलाइएको विभागले जनाएको छ।
विभागले खाद्य उत्पादक, आयातकर्ता, सञ्चयकर्ता तथा विक्रेताहरूलाई निर्धारण गरिएका मापदण्डहरूको पालना गर्न अनुरोध गरेको छ। अन्यथा, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कानूनी कारबाही गरिने चेतावनी विभागले दिएको छ।
सम्बन्धित समाचारः
प्रतिक्रिया दिनुहोस्