डिजिटल कृषिः कृषि क्रान्तिको महत्त्वाकाङ्क्षा बोकेको एआई सुविधा सहितको ‘कनेक्ट किसान एप’


काठमाडौँ । कृषि विकासको नारा त सबैले भट्याउने साझा नारा नै बनिसकेको छ । तर कसरी ? कृषि विकासका सहयोगी प्रणालीहरूमा पछिल्लो समयमा आवश्यकता महसुस गरिएको विषयको प्रविधि । प्रविधिमा पनि सूचना प्रविधिको प्रभावकारिता बढाउन नसक्नु पनि चुनौतिको विषय बनेको विज्ञहरूको ठम्याइ छ ।

च्याटजिपिटी र डिपसिक जस्ता आर्टिफेसियल इन्टिलिजेन्ट (एआई) मड्युलले माहौल तपाईँ रहँदा कृषिमा पनि एआईको प्रयोगको बहस चल्न थालेको छ । डिजिटल कृषिका लागि वर्षौँदेखि अभ्यास नभएका हैनन् तर पछिल्लो सयमा एआईमा आधारित भएर कृषि क्रान्तिको महत्वकांक्षा बोकेर कृषकको घरदैलोमा पुग्ने एप पनि विकसित गरिएका छन् । यस्तै एक कृषि एप हो ‘कनेक्ट किसान एप’ ।

किसानहरू उत्पादनमा कडा मेहनत गर्दछन्, उनीहरूको उत्पादन उचित मूल्यमा बिक्री गर्न सक्दैनन् र निरुत्साहित भएपछि कृषि पेशाबाट नै प्लायन हुन बाध्य हुन्छन् । यस्ता समस्याहरूलाई समाधान गर्न नेपालमा नयाँ डिजिटल प्लेटफर्म ‘कनेक्ट किसान’ ले कृषिमा प्रविधिको प्रयोग गरी किसानहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएर अघि बढेको छ ।

आजको दिनमा देशभर कति कृषि बजार छन् ? कसरी व्यवस्थापन भइरहको छ ? मूल्य निर्धारण कति वैज्ञानिक छ ? कृषक र व्यवसायीले कस्ता समसय भोगिरहेका छन् ? उपभोक्ताको मनोविज्ञान कस्तो छ ? यी र यस्तै प्रश्नहरूको उत्तर सरकारसँग पनि छैन ।

हालसम्म नेपालमा कति कृषि उपज बजारहरू संचालनमा छन् भन्ने तथ्याङ्क न संघीय सरकारसँग छ न प्रदेश र स्थानीय तहसँग । तथ्याङ्क अद्यावधिक नहुँदासम्म कृषि बजार सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गर्ने कार्य पनि प्रभावित भएको छ भने यस्ता खालको तथ्याङ्क नहुँदा किसानले उत्पादन गरेको उपजले बजार पाउनको लागि समेत समस्या हुँदै आएको छ ।

यी समस्याहरुलाई निराकरण गर्दै ‘कनेक्ट किसान’ एपले कृषि क्षेत्रलाई प्रविधि, वित्तीय सेवा र बजार व्यवस्थापनको माध्यमबाट समृद्ध बनाउने उद्देश्य एपकाे छ । यस प्लेटफर्मले किसानहरूको उत्पादन वृद्धिमा सहयोग पुर्याउने, बजारमा सिधा पहुँच बनाउने र बिचौलियाको प्रभाव घटाउने उद्देश्यका साथ अघि बढेको कनेक्ट किसानका निर्देशक राजन दाहालले बताए ।

उनले भने, “एपको माध्यमबाट किसानलाई माटो परीक्षण, रोग र कीराको व्यवस्थापन, मलखादको प्रयोग, आधुनिक कृषि प्रविधि, र बजार मूल्यसम्बन्धी दैनिक अपडेटहरू उपलब्ध गराइनेछ ।” इन्फरमेसन केयर नामक आईटी कम्पनीले करिब डेढ वर्ष लगाएर निर्माण गरेको यो एप्स यहि वर्षको भदौँ महिनादेखि सञ्चालनमा ल्याइएको हो ।

कनेक्ट किसान एप डाउनलोड गरेर किसानहरू यस प्लेटफर्ममा सहभागी हुन सक्छन् । एपमा साइनअप गर्दा उनीहरूले आफ्नो बसोबास स्थानको ठेगाना र अन्य आवश्यक जानकारी प्रदान गर्नुपर्छ । त्यसपछि किसानलाई उनीहरूको गाउँपालिका वा नगरपालिकाद्वारा जारी गरिएका कृषिसम्बन्धी सूचनाहरू सिधै मोबाइलमा नोटिफिकेशनको माध्यमबाट प्राप्त हुने दाहाले जानकारी दिए ।

हाल नुवाकोटको बेलकोटगढी नगरपालिका, धादिङको गजुरी गाउँपालिका, गोरखाको भीमसेनथापा गाउँपालिका, बाराको फेटा गाउँपालिका, पाँचथरको फिदिम नगरपालिका र पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका गरी ६ स्थानीय तहले कनेक्ट किसानको सेवा लिएका छन् । थप ३० पालिकासँग सहकार्यका लागि कुराकानी अघि बढिरहेको जानकारी निर्देशक दाहालले दिए ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको कृषि गणना २०७८ को तथ्यांकअनुसार ५४ प्रतिशत किसान बजारको पहुँचबाट टाढा छन् । ३ लाख ३४ हजार किसानको कृषि उपज घरैबाट बिक्री हुने गरेको पाइएको छ भने २ लाख ८६ हजार परिवारको बजार नजिकै छ ।

तथ्याङ्क अनुसार १२ लाख ६७ हजार किसान परिवार बजार पुग्न ३० मिनेट भन्दा कम लाग्छ भने एक देखि ३ घण्टासम्म बजार पुग्न समय लाग्ने किसान संख्या २२ लाख ४२ हजार ९ सय रहेको छ । तथ्याङ्कले समेत नेपालका किसानहरू बजारको पहँचबाट कति ढाटा छन् भन्ने कुरा प्रष्ट पार्छ ।

बजार पहुँच टाढालाई प्रविधिको माध्यमबाट नजिक ल्याउनको लागि कनेक्ट किसानले पछिल्लो समय थप मिहिनेत र अध्ययन गर्दै अघि बढेको निर्देशक दाहालको भनाइ छ । गोरखाको भीमसेनथापा गाउँपालिकामा कनेक्ट किसानले कफी, बेसार, अदुवा, अमला, कोदो र फापर जस्ता पाँच प्रकारका बालीको बिक्री र बजार व्यवस्थापनको जिम्मा कनेक्ट किसानले लिएकाे छ। बेलकोटगढी नगरपालिकासँग कफी, बेसार र अकबरे खोर्सानीको बजार व्यवस्थापनका लागि सहकार्य अघि बढेको छ ।

किसानहरूले आफ्नो बाली कति समयपछि बिक्री गर्न तयार हुने र कति परिमाणमा बिक्री गर्ने भन्ने जानकारी एपमा पोस्ट गर्छन् । त्यसपछि, कनेक्ट किसानले उक्त कृषि उत्पादनको खरिद गर्न इच्छुक ग्राहकको खोजी गर्दछ । यसका साथै, एपमा आधारित कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफेसियल इन्टिलिजेन्ट (एआई) आधारित कृषि परामर्श सेवा पनि उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

किसानले आफ्ना समस्याबारे सोधपुछ गर्दा एपमा रहेका च्याटबोटले छिटो र प्रभावकारी समाधान दिनेछन् । जटिल समस्याहरूको लागि कृषि विज्ञसँग प्रत्यक्ष परामर्श पनि लिन सकिनेछ । यसले किसानलाई आवश्यक जानकारी र विशेषज्ञको सहयोग प्रदान गर्ने निर्देशक दाहालको बुझाइ छ । त्यसैगरि कृषि क्षेत्रको अर्को ठूलो समस्या भनेको उत्पादनको उचित मूल्य नपाउनु हो ।

परम्परागत रूपमा, बिचौलियाहरूले किसानको उत्पादनबाट ठूलो मुनाफा लिने गर्दछन्, जसका कारण किसानहरू उचित मूल्यबाट वञ्चित भइरहेका छन् । यस समस्यालाई समाधान गर्न, कनेक्ट किसान डजिटल इ–कमर्स प्लेटफर्मको निर्माण गरेको छ जसले किसानलाई सिधा उपभोक्ता वा थोक बजारसँग जोड्ने काम गर्नेछ ।

यस प्लेटफर्मको माध्यमबाट किसानले आफ्नो उत्पादनको मूल्य निर्धारण गर्न बिडिङ प्रणालीको प्रयोग गर्नेछन् । यसले पारदर्शिता बढाउने र किसानलाई उचित मूल्य प्राप्त गर्न सहयोग पुर्याउनेछ ।

कनेक्ट किसानको अर्काे महत्वपूर्ण र सहयोगी पाटो भनेको उत्पादन हुनुअघि नै किसानलाई बजार खोजी गरेर दिने कार्य गर्दछ । बालीनालीको उत्पादनको दौरान, किसानहरूले कनेक्ट किसानको एपमार्फत बालीको बारेमा जानकारी प्राप्त गर्छन्, जसमा सम्भावित रोगहरूको बारेमा जोगिने उपाय र बालीको स्याहारका बारेमा पनि जानकारी दिइने निर्देशक दाहालले बताए ।

कृषि क्षेत्रसँग सम्बन्धित अर्को ठूलो समस्या वित्तीय पहुँचको अभाव हो । नेपालका अधिकांश किसानहरूलाई ऋण प्राप्त गर्न कठिनाइ हुन्छ । यस समस्यालाई समाधान गर्न, कनेक्ट किसान एपले सहकारी र वित्तीय संस्थाहरूसँग साझेदारी गर्दै डिजिटल माध्यमबाट किसानलाई कर्जा उपलब्ध गराउने योजना बनाएको छ।

यसबाट किसानलाई छिटो, सरल र झन्झट मुक्त तरिकामा वित्तीय सहायता प्राप्त हुने अवसर मिल्ने दाहालको विश्वास छ । जुन कनेक्ट किसान एपको अर्को प्रमुख विशेषता भनेको यसको स्थानीय तहसँगको समन्वय हो । कृषि अनुदान, तालिम र नीति निर्माणका लागि आवश्यक डाटा व्यवस्थापन गर्न यस प्लेटफर्मको प्रयोग गरिने बताइएकाे छ।

यसले स्थानीय तहलाई किसानको वास्तविक अवस्थाको जानकारी पुर्याउने र अनुदान वितरणलाई पारदर्शी बनाउन सहयोग गर्नेछ । यसका अतिरिक्त, किसान कार्ड वितरण, उत्पादन विवरण संकलन र कृषि योजनाको डिजिटल अभिलेख राख्ने काम पनि यस प्लेटफर्मले गर्नेछ। कृषि बजारको अध्ययन नगरेर कृषिमा लगानी गर्ने युवा जमात पनि ठुलो छ ।

विशेषगरी काठमाडौँ उपत्यका वरपर र उपत्यका बाहिर पनि नजिकको बजारलाई लक्षित गरेर मौसमीदेखि बेमौसमी उत्पादनमा युवाहरु संलग्न भएको देखिन्छ । तर कतिपय यस्ता कृषि फार्महरु बजारको ज्ञारेन्टी नहुँदा निराश भइ बन्द गरिने गरेको पनि पाइन्छ ।

उलब्ध हुने बजारमा पनि कृषि उपजको आपूर्तिको श्रृखलाबारे जानकारी नहुँदा विक्री नहुने समस्याले निशारा पैदा भएको अवस्था छ यस्ता अवस्थाको अन्त्य गर्नको लागि कनेक्ट किसानले विशेष भूमिका निर्वाह गर्ने निर्देशक दाहालको दाबी छ ।

कनेक्ट किसान एप हालसम्म ५ हजारभन्दा बढीले डाउनलाेड गरिसकेकाे कम्पनीले जनाएकाे छ । सन् २०२६ भित्र १ लाख किसानलाई जोड्नु १५० स्थानीय तहमा सेवा विस्तार गर्नु, र ३०० थोक व्यापारीलाई प्लेटफर्ममा सहभागी गराउनु हो । यस परियोजनाले नेपालमा कृषि क्षेत्रमा ठूलो डिजिटल परिवर्तन ल्याउने र समग्र अर्थव्यवस्थामा योगदान पुर्याउने अपेक्षा दाहालको छ ।

निर्देशक दाहालले भने, “हामीले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरेर किसानहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएका छौं। हाम्रो डिजिटल प्लेटफर्मले किसानलाई सिधा बजारसँग जोड्ने, वित्तीय सेवा प्रदान गर्ने र कृषि उत्पादन बढाउने काममा महत्त्वपूर्ण भूमिका खेल्नेछ । हामी विश्वास गर्छौं कि हाम्रो पहलले नेपालमा कृषि क्षेत्रको कायापलट गर्नेछ।”

योे प्लेटफर्म आधुनिक कृषि प्रविधि, वित्तीय सेवा र बजार पहुँचको समग्र समाधान प्रदान गर्दै कृषिमा एक नयाँ युगको सुरुआतकाे महत्वकांक्षा भने किसानले एपप्रति देखाउने अपनत्वमा निर्भर हुनेछ ।