काठमाडौँ । स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुरू गरेको परीक्षण अभियानमा काठमाडौँ महानगरले सहकार्य गरेको छ ।
अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाईकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । यससम्बन्धमा काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा दुवै पक्षबीच नागरिकको निःशुल्क परीक्षण सम्बन्धी सम्झौता भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरविरुद्ध सजगताका लागि देशैभर फागुन महिनाभर निःशुल्क परीक्षणको निर्णय गरेर कार्यान्वयनमा ल्याएका थिए । रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचतेतताका लागि यो कार्यक्रम आवश्यक रहेको भन्दै सहकार्यका लागि मन्त्री पौडेलले काठमाडौं महानगरप्रति आभार प्रकट गरे ।
काठमाडौँ महानगर उपप्रमुख सुनिता डंगोलले स्तन तथा पाठेघरको मुखको क्यान्सर महिलाका लागि ठूलो समस्या बनिरहेको अवस्थामा यस सहकार्यले महिलाहरुको जीवनरक्षा हुने विश्वास व्यक्त गरिन् ।
निर्देशक डा.दिलिप शर्माका अनुसार सबै नागरिकका लागि निःशुल्क रहने सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरले आर्थिक सहयोग गर्नेछ भने वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्