काठमाडाैँ । तराई–मधेसको मेरुदण्ड मानिएको राष्ट्रिय गौरवको हुलाकी राजमार्ग विस्तारको काम ७० सम्पन्न भएको छ ।
तराई–मधेसका २१ जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्म प्रगति ७० प्रतिशत पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।
मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले राजमार्ग निर्माणको काम तिब्र गति भइरहेको बताएका हुन् ।
उनले हुलाकी राजमार्गमा १८५७ किलोमिटर सडक र २५० वटा पुल निर्माण गरिसकेपछि सम्पन्न हुने उल्लेख गरे । हालसम्म राजमार्गअन्तर्गत १३०५ किलोमिटर कालोपत्रे सडक निर्माण र १४४ वटा कल्भर्ट तथा पुल निर्माण भइसकेको बताए । राजमार्गको बीचमा पर्ने निकुञ्ज क्षेत्रको कारण निर्माण कार्यकम ढिलाइ भइरहेको उनकाे भनाइ छ ।
चितवन र पर्साको चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सेक्सन र कविलवस्तु र दाङको सिमामा बस्ति नभएको कारण जाने कि नजाने भन्ने दुविधाका कारण उल्लेख्य प्रगति हुन नसकेको उनको भनाइ छ । चालु आर्थिक वर्षको फागुनसम्ममा समष्टिगत प्रगति भने ९१ प्रतिशत भएको उनले बताए । उनले काम भएनअनुसारको भुक्तानी दिन नसकिएको समेत उल्लेख गरे ।
उनले भने, “यसमा १८५७ किलोमिटर बाटो र २५० वटा पुल निर्माण गरेपछि सम्पन्न हुन्छ । अहिलेसम्म यसको समष्टिगत प्रगतिमा १३०५ किलोमिटर कालोपत्रे सडक निर्माण भइसकेको छ । पुल र कल्भर्ट गरेर १४४ वटा निर्माण भएका छन् । समग्रमा प्रगति हेर्दाखेरि ७० प्रतिशत प्रगति भएको अवस्था छ । यसको प्रगति कम हुनुमा केही राष्ट्रिय निकुञ्जमा परेका सेक्सनहरुमा अहिले पनि शुरु हुन सकेको छैन । चितवन र पर्साको चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सेक्सनमा, त्यसैगरी कविलवस्तु र दाङको सिमामा समेत बस्ति नभएको कारण त्यहाँबाट नजाने कि भन्ने कुरा भएको छ । त्यो कारणले गर्दाखेरि यसको प्रगति कम देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्मको प्रगति ९१ प्रतिशत भएको छ । तर काम भएअनुसार भुक्तानि गर्न नसर्किएको अवस्था छ ।”
निकुञ्ज क्षेत्रमा रहेका अवरोधहरु सुल्झिएको अवस्थामा अबको २ वर्षभित्रमा राजमार्ग निर्माणको काम सम्पन्न हुने उनको भनाइ छ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले हुलाकी राजमार्गको काम सम्पन्न गर्न नसक्दा तराई मधेसका नागरिकले कष्ट भोगिरहेको बताए ।
उनले २१ वटा जिल्ला जोड्ने राजमार्ग निर्माण काम समेत अस्तव्यस्त भएको उल्लेख गरे । राजमार्गअन्तगर्तको सडकको चौडाई र पिचमा समेत एकरुपता नभएको उनकाे भनाइ छ । उनले हुलाकी राजमार्ग निर्माण समयमै सम्पन्न गर्न आवश्यक रहेको बताए ।
उनले भने, “सडकको जुन अवस्था छ त्यो बेथितिको अवस्थामा छ । अस्तव्यस्त सडक अवस्थाका कारण त्यहाँका स्थानीय समस्यामा छन् । संघीय लोकतान्त्रिक हामीले संविधान बनायौं । २१ वटा जिल्लाका नागरिकलाई आवत जावत गर्ने सुविधा त्यो बाटोले दिन्छ । राजमार्गमा सडकको चौडाई र पीचमा समेत एकरुपता देखिएको छैन । कुनै ठाउँमा ६ मिटर छ कुनै ठाउँमा साढे पाँच मिटर मात्रै छ । एउटा ठाउँमा कालो पिच भएको छ । अर्को ठाउँमा त्यो बाँकी नै छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कुनै राजनीतिक दलको नेता नजोडिएकै कारण हुलाकी राजमार्ग निर्माणमा ढिलाई भइरहेको बताए । उनले सरकारले भ्युटावर र गेटहरु धमाधम बनाएको तर हुलाकी राजमार्गको लागि पैसा छैन भन्ने गरेकै कारण समस्या भएको उल्लेख गरे । भ्युटावरको इकोनोमिक रिटर्न के छ ? भन्दै प्रश्न समेत गरे । उनले एकीकृत योजनाको सोच नभएकै कारण राजमार्ग निर्माण ढिलाइ भइरहेको बताए ।
बैठकमा मंगलवार हुलाकी, वि.पी र अरनिको राजमार्ग लगायतका राष्ट्रिय राजमार्गहरुको वर्तमान अवस्थाबारे भौतिक मन्त्रालयसँग छलफल गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्