कुलमान हटाएको भन्दै राष्ट्रिय सभामा पनि प्रतिपक्षी दलको अवरोध


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेका छन् ।

बुधवारको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), का सांसदहरुले उठेर बिरोध जनाएका हुन् । प्रतिपक्षी दलले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध पारेका हुन् ।

बैठकमा शुरुमा उठेर माओवादी केन्द्रका सांसदहरुले बिरोध जनाएपछि माओवादीका सांसद गोपीबहादुर सार्कीले कुलमानलाई केही समय मात्र बाँकी रहँदा किन हटाउनुपरेको हो ? भन्दै प्रश्न गरे । उनले कलमान घिसिङले नै लोडसेडिङ अन्त्य गर्नुभएको दाबी गर्दै उज्यालो नेपाल बनाउनुभएको बताए । प्रतिपक्ष दलको तर्फबाट उनले सरकारको उक्ता निर्णयको भत्र्सना गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर स्पष्टीकरण नदिएसम्म सदन चल्न नदिने उद्घोष गरे ।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । शाक्यले मंगलवार नै पदभार ग्रहण गरिसकेका थिए । २०७८ साउन २४ गतेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

त्यसको तीन दिनपछि साउन २७ मा नियुक्तिपत्र बुझे लगत्तै घिसिङले शाक्यलाई प्रतिस्थापन गरेका थिए । तत्कालीन समयमा आफूलाई हटाएर नियुक्ति पाएका घिसिङको नियुिक्त बदर माग गर्दै शाक्य सर्वोच्च पुगेका थिए । माओवादी केन्द्रको बिरोधसँगै सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक १५ मिनेटका लागि स्थगित गरे ।