प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः सांसद सापकोटा


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका छन् ।

बिहीवार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताएका हुन् । उनले सरकारलाई खबरदारी गर्ने थलो संसद भएको बताए ।उनले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकलाई मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेकाले विपक्षी दलहरुले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेको बताए ।

उनले सरकारले बदनियत राखेर काम गरेकाले संसदमा उभिएर जवाफ दिने हिम्मत नगरेको आरोप लगाए । कुशासनको बाटोमा लागेको सरकारलाई विपक्षीहरुले सुशासनको बाटोमा आउन खबरदारी गरेको उनको भनाइ छ । सांसद सापकोटाले वर्तमान सरकार विचौलियाहरूले बनाइ दिएको र उनीहरूकै स्वार्थ पूरा गर्न उनीहरुकै हितमा चलेको आरोप लगाए । उनले सांसदहरु बोल्दै गर्ने तर सरकारले स्वच्छाचारी र निरंकुश गतिविधि गरी रहने हो भने संसद चल्नु र नचल्नुमा कुनै मूल्य नहुने जिकिर गरे ।