काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादी प्रदर्शनको नाममा भएका हिंसात्मक गतिविधिहरूलाई गम्भीर अपराध भन्दै दोषीहरूमाथि कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरूमाथि कानूनअनुसार अनुसन्धान गरी कडा कारबाही गरिने बताएका हुन् ।
उनका अनुसार शुक्रबार तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको छ भने सार्वजनिक तथा निजी सम्पत्तिमाथि व्यापक तोडफोड र आगजनी गरिएको छ ।
प्रदर्शनकारीहरूले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय तोडफोड गरी आगो लगाएको घटनालाई निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले उक्त हिंसालाई राजनीतिक आन्दोलन नभई सुनियोजित आपराधिक गतिविधि भएको बताएका छन्।
प्रदर्शनको नाममा आपराधिक गतिविधि
गृहमन्त्री लेखकले शुक्रबारको घटनालाई आन्दोलन भन्दा बढी आपराधिक घटना भएको भन्दै प्रदर्शनकारीहरूले योजनाबद्ध रूपमा तोडफोड र आगजनी गरेको उल्लेख गरे ।
“हिजो जुन प्रदर्शनका नाममा जे कामहरू भएका छन्, यसको कुनै पनि राजनीतिक दर्शन, आदर्श, सिद्धान्त वा चेतनासँग सम्बन्ध छैन। यो एकदमै आततायी र अमानवीय ढंगले गराइएको आपराधिक गतिविधि हो”, गृहमन्त्री लेखकले भने ।
उनका अनुसार आक्रमणकारीहरूले ‘फलानो ठाउँमा आक्रमण गर्ने’ भनेर पहिले नै घोषणा गर्दै सुनियोजित रूपमा विभिन्न ठाउँमा हिंसात्मक गतिविधि गरेका थिए ।
पत्रकारको हत्या र सार्वजनिक सम्पत्तिमाथि आक्रमण
गृहमन्त्री लेखकले प्रदर्शनकारीहरूले सञ्चारमाध्यमहरू, गणतन्त्रवादी नेताका घर तथा पार्टी कार्यालयमाथि योजनाबद्ध रूपमा आक्रमण गरेको बताए ।
“मूलतः पत्रकारहरूलाई लक्षित गरी सञ्चारगृहमा आक्रमण गरियो, निजी र सरकारी सम्पत्तिहरू तोडफोड गरियो, सपिङ कम्प्लेक्सहरूसम्म आक्रमण गरियो । मानिसहरू घरभित्र छन् भन्ने थाहा हुँदाहुँदै आगो लगाइयो, जसका कारण एक जना पत्रकारको ज्यान गयो,” गृहमन्त्रीले भने ।
उनका अनुसार नागरिक सुरक्षाका लागि प्रहरीले बल प्रयोग गर्दा अर्का एक जनाको मृत्यु भएको छ। मृतकहरूप्रति दुःख व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
कानूनी अनुसन्धान र कारबाहीको प्रतिबद्धता
गृहमन्त्री लेखकले हिंसात्मक घटनामा संलग्नहरूमाथि कानूनअनुसार आवश्यक अनुसन्धान गरी कारबाही गरिने स्पष्ट पारे।
“हिजोका घटनाहरूमा संलग्न सबैलाई कानूनी कठघरामा ल्याइनेछ। पत्रकारमाथि हमला गर्ने, सञ्चारमाध्यम तोडफोड गर्ने, राजनीतिक दलका कार्यालयमाथि हमला गर्ने, निजी तथा सार्वजनिक सम्पत्ति ध्वस्त पार्नेहरूमाथि कडा कानूनी कारबाही हुन्छ,” उनले भने । सरकारले घटनामा संलग्न सबै दोषीलाई पहिचान गरी कानूनी प्रक्रियाअनुसार दण्डित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्