काठमाडाैँ । विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल बिस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो ।
सडक विभागमार्फत परिचालन हुने यो सहायताबाट रणनीतिक सडक बिस्तार गरिनेछ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिनेछ । नेपाललाई दिने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको जानकारी दिँदै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि क्षेत्रीय निर्देशक डेविड सिस्लेनले रणनीतिक सडक बिस्तारले बजार र सेवासम्मको पहुँच बिस्तारमा सघाउ पुग्ने बताए ।
“नेपालको सडक सञ्जालको प्रतिरोध क्षमता सुरक्षित र दिगो जडानको लागि आधारभुत छ । यो कार्यक्रमले प्रतिरोधात्मक पूर्वाधार विकासमा जोड दिन्छ र संवेदनशील समुदायहरूलाई बजार र सेवासम्म पहुँच पुर्याउने काम गर्छ, साथै नेपालको दिगो वृद्धि प्रवद्र्धन गर्न मद्दत गर्छ,” उनले भने ।
विश्व बैंककाअनुसार यो कार्यक्रमले सडक विभागको क्षमता सुदृढ गर्नका लागि समेत सघाउ पुग्नेछ भने प्रभावकारी पूर्वाधार व्यवस्थापनको लागि संस्थागत प्रणालीलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्