तीनकुने घटनाको सत्यतथ्य छानविन गरी दोषिउपर कारबाही गर्न सांसदहरुको माग


काठमाडाैँ । चैत्र १५ गतेको तीनकुले प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग सांसदहरूले गरेका छन् ।

आइतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । सांसदहरुले चैत्र १५ गतेको घटनामा सुरक्षाका हिसावले सरकारले कमजोरी गरेको औंल्याएका छन् ।

संविधानप्रदत्त हक अधिकारलाई प्रयोग गरेर शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार विपरित गइ जनधनको क्षति भएकोप्रति सरकार ग्म्भीर बन्नुपर्ने धारणा राखेका छन् । समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद छविलाल विश्वकर्माले तीनकुनेको घटना क्षम्य नभएको बताए । उनले घटनाको जतिसुकै निन्दा र भत्र्सना गरेपनि कम हुने बताए । सरकार र प्रहरी प्रशासनले आफ्ना संयन्त्रहरूको आधारमा आवश्यक जानकारी लिन नसक्दा क्षति व्यहोर्नुपरेको भन्दै आगामी दिनमा यसबाट शिक्षा लिएर सचेत हुनुपर्ने बताए । सरकारले विमानस्थल जस्तो संवेदनशील क्षेत्र वरपर आन्दोलन गर्न स्थान दिनु नहुनेमा सरकार चुकेको बताए ।

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेत सुवेदीले चैत्र १५ गते तीनकुनेमा भएको घटनाप्रति खेद प्रकट गरे । उनले घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गरे। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले चैत्र १५ गतेको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले शिक्षा र स्वास्थ्यको वातावरण बिथोलिनुका साथै युवाहरुको देशमा बस्ने वातावरण समेत बिथोलिएको बताइन् ।

उनले जीवन नै सकिने गरी भएका घटनाको बिरोध गर्दै आगामी दिनमा त्यसो हुन नदिन सचेत रहनुपर्ने बताइन् ।सांसद कार्कीले सरकारको नेतृत्व असफल भएको आशंका व्यक्त गर्दै सरकारलाई झक्झक्याउन जरुरी रहेको बताइन् । उनले घटनामा संलग्नलाई कारबाही गर्न माग गरिन् ।