काठमाडौं । गत शुक्रबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाटको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। राजावादीहरूले आयोजना गरेको प्रदर्शनका क्रममा भएको तोडफोडपछि लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रदर्शनका क्रममा भाटभटेनीमा क्षति पुगेपछि त्यसलाई अवसरका रूपमा उपयोग गर्दै केही व्यक्तिहरूले लुटपाट गरेको प्रहरीको भनाइ छ। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै चैत १६ र १७ गते काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैजना कोटेश्वर क्षेत्रमा बस्दै आएका व्यक्ति भएको खुलेको छ। अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि उनीहरूलाई प्रहरी वृत्त बानेश्वरमा पठाइएको प्रहरीले जनाएको छ।
लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरूमा धनुषाका आशीष साह, सर्लाहीका प्रेम कुमार महतो, भारतका रवि रञ्जन कुमार, नुवाकोटकी सुशीला कुमाल, धरानकी एलिसा राई, कोटेश्वरकी बालकुमारी कार्की, सिन्धुपाल्चोककी निर्मला कार्की, सिन्धुलीकी चित्रमाया बस्नेत र सुस्मिता बराल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट विभिन्न सामग्री बरामद गरेको छ । जसमा मदिराका विभिन्न ब्रान्ड, कपडा, सौन्दर्य सामग्री र अन्य उपभोग्य वस्तुहरू रहेका छन्। त्यस्तै बरामद सामग्रीहरूमध्ये ब्ल्याक लेबल र ज्याक डेनियल्स ब्रान्डका मदिरा, यार्सागुम्बा ब्रान्डको मदिरा, हाफ पाइन्ट र ट्राउजर लगायतका लत्ताकपडा, लिपस्टिक, ऐना, गाजल, फलफूल, ट्रे र क्यारेट जस्ता सामग्री छन्। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी राखेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्