मुस्लिम धर्मावलम्वीहरूले मनाए इद उल फित्र


काठमाडाैँ । मुस्लिम धर्मावलम्वीहरूले आज इद उल फित्र मनाएका छन् ।आज बिहानै मुस्लिम धर्मावलम्वीहरुले शुद्ध भइ नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढी एक आपसमा मित्रवत रूपमा शुभकामना साटासाट गरेका छन् ।

इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । काठमाडौँको जामे मस्जिद, टुँडिखेलमा नमाज अदा गरेर इद उल फित्र मनाइरहेका छन् । देशभरका विभिन्न मस्जिदहरूमा मुस्लिम धर्मावलम्वीहरुको भीड छ ।

उनीहरूले एक आपसमा शुभकामना साटासाट गरी इद उल फित्र मनाइरहेका छन् । इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभुति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।