काठमाडौं । नेपाल कफी व्यवसायी महासंघले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा चैत २१ गतेदेखि २३ गतेसम्म ‘ नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप – २०८१ ’ आयोजना गर्ने घोषणा गरेको छ ।
उक्त कार्यक्रमले नेपाली कफीको प्रवर्द्धन, व्यापार विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । ‘नेपाल कफी फेस्टिवल एण्ड च्याम्पियनसिप- २०८१’ को मुख्य उद्देश्य नेपाली कफीको चाहना र उपभोग प्रवर्धन गर्ने, कफी व्यवसायलाई विस्तार गर्ने, उच्चस्तरीय व्यवसाय प्रवर्धन गर्ने, व्यवसायको राष्ट्रिय पहिचान प्रतिपादन गर्ने, पुरस्कार वितरण, तालिम, गोष्ठी र यस क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई विविध प्रकारका अवसरहरू उपलब्ध गराउने रहेको छ ।
उक्त कार्यक्रममा कफी प्रशोधन, बिक्री प्रवर्धन, व्यावसायिक नेटवर्क विस्तार तथा कफी व्यवसायमा नवप्रवर्तन (इनोभेसन) प्रोत्साहन गर्न विभिन्न गतिविधिहरू समावेश गरिने छन् । यस्तै उक्त कार्यक्रममा कफी व्यवसायी, किसान, अनुसन्धानकर्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरू सहभागी हुने छन् । साथै, कफी चखाउने (टेस्टिङ), बारिस्टा प्रतिस्पर्धा, लाटे आर्ट प्रतियोगिता र व्यापार प्रवर्धन सम्बन्धि छलफल समेत गरिने छ ।
कफी व्यवसायसँग सम्बन्धित उत्पादकहरू, व्यवसायिक गृहहरू, लगानीकर्ताहरू र अन्य कफी क्षेत्रका उद्यमी व्यवसायहरूसँगको अन्तरक्रिया गर्ने अवसर प्रदान गर्ने छ । आमउपभोक्ताहरूले कफी उत्पादनको प्रक्रियाहरू, नयाँ प्रविधिहरू, रोस्टिङ प्रविधिहरू, घरेलु व्यवसायलाई समर्थन गर्ने अवसर प्राप्त गर्ने छन् ।
सहभागिहरूले नेपाली कफीको स्वाद लिन सक्ने, अन्य उत्कृष्ट नेपाली उत्पादनसँग तुलना गर्ने मौका प्राप्त गर्ने छन् । साथै, समावेशी रूपमा विभिन्न प्रतियोगिताहरू आयोजना गरिने छ, जसमा क्याफे बारिस्ता, लाते आर्ट र व्रुइडमा उत्कृष्टतालाई पहिचान र पुरस्कृत गर्न कफी प्रतियोगिताहरू सञ्चालन गरिने छ । त्यसैगरी, उक्त फेस्टिभलले नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।
साथै, कफी व्यवसायमा लगानीका अवसरहरू पहिचान गर्न, उत्पादकहरूलाई नयाँ प्रविधि र प्रवृत्तिहरूसँग जोड्न तथा नेपाली कफीलाई वैश्विक स्तरमा स्थापित गर्न कार्यक्रम सहायक हुने अपेक्षा गरिएको छ । ‘ नेपाल कफी फेस्टिवल एण्ड च्याम्पियनसिप- २०८१ ’ नेपाल सरकारका मन्त्रालयहरू, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड तथा विभिन्न कफी व्यवसायी संघ र संस्थाहरूको सहकार्यमा आयोजना हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्