वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव छः मन्त्री ठकुरी


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताएका छन् ।

नेपालमा आगलागी जोखिम न्युनिकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नविनतम प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आईतवारदेखि काठमाडौंमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् । उनले वन डढेलो नियन्त्रणका लागि सकारसँग दमकल बाहेक अन्य कुनै विकल्प नरहेको बताए ।

उनले सरकारले वन डढेलोलाई गम्भिरता साथ लिएर विभिन्न विकल्पहरुबारे सोचिरहेको पनि बताए । वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यका सबै संयन्त्रहरु परिचालन उनको भनाइ छ । उनले जटिल भूबनावटका कारण वन डढेलो नियन्त्रणका लागि सरकारको एकल प्रयासले सम्भव नहुने भन्दै सरोकारवाला सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

उपकरण र दक्ष जनशक्तिको अभावका कारण नेपालमा वन डढेलोले ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै उहाँले यससम्बन्ध सबै सचेत हुन जरुरी रहेको बताए । सोमवारसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न १४ राष्ट्रका विज्ञहरुले आआफ्नो कार्यपत्र प्रश्तुत गर्नेछन् ।